धनगढी। सुदूरपश्चिम प्रदेश सरकारअन्तरगतका मन्त्रालयमा सचिव देखि मन्त्रीविहिन हुँदा कामकाज प्रभाबित बन्न थालेका छन्। प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, सामाजिक विकास मन्त्रालय,उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालय मन्त्रीविहीन छन्।
कतीपय मन्त्रालयमा कर्मचारी देखी सचिवविहिन रहेका छन्। प्रदेशको सामाजिक विकास मन्त्रालयमा ३ महिना देखी सचिवविहिन बनेको छ । आगामी आर्थिक बर्षको बजेट, नीति तथा कार्यक्रम निर्माणमा जुट्नुपर्ने अवस्थामा मन्त्रालयमा सचिव र मन्त्रीविहिन बन्दा मन्त्रालयबाट हुने कामकाज प्रभावित बनेका छन्। सामाजिक विकास मन्त्रालयमा मन्त्री नियुक्त नभएको अवस्था छ भने तिन महिनादेखि सचिवविहिन बनेको छ । सरकारमा अहिले कांग्रेसबाट मुख्यमन्त्रीसहित प्रकाशबहादुर देउवा भौतिक पूर्वाधार विकास र एकीकृत समाजवादीबाट नरेशबहादुर शाही आर्थिक मामिलामन्त्री छन्।
बाँकी चार मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री शाहले आफैँसँग राखेका छन्। प्रदेशको सामाजिक विकास मन्त्रालय लगायत ४ मन्त्रालयमन्त्रीविहिन भएपछि तीन महिनादेखि मुख्यमन्त्री कमलबहादुर शाहको मातहातमा रहेको छ। सामाजिक बिकास मन्त्रालय मुख्यमन्त्री शाह मातहात रहेपनि तीन महिनादेखि निमित्त सचिवको भरमा मन्त्रालय चलिरहेको छ। उपसचिव गणेशबहादुर सिंहले निमित्त सचिवका रुपमा मन्त्रालयमा काम गरिरहेका छन्। गणेशबहादुर सिंहले संघबाट सचिव नपठाएको तीन महिना भएको जानकारी दिए।
उनले सचिव नभएपनि मन्त्रालयका काम कारबाही प्रभावित नभएको बताए।संघिय सरकारले मन्त्रालयको सचिवमा कर्मचारी खटाएपनि अहिलेसम्म मन्त्रालय नपुगेको जनाइएको छ । सिंहका अनुसार सचिव कहिले पुग्छन भन्ने जानकारी नभएको बताए ।नेपाल सरकारको मन्त्रीपरिषदले संस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय वा अन्र्तगतमा कार्यरत ज्ञान प्रसाद ढकाललाई सामाजिक विकास मन्त्रालयको सचिवको जिम्मेवारी दिने गरि कामकाजमा खटाउनले निर्णय गरेको थियो । वैशाख २० गते मन्त्रीस्तरिय निर्णयबाट सचिवको जिम्मेवारी पाएका ढकाल अहिलेसम्म मन्त्रालय पुगेका छैनन्।
यस्तै, प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा खटाएका सचिव पनि मन्त्रालय पुगेका छैनन्। नेपाल सरकारले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव भगवान अर्याल आन्तरिक मामिला तथा कानुन मन्त्रालय सचिवमा खटाएका थिए ।आर्थिक वर्षको अन्त्यतिर नयाँ बजेट निर्माण र चालू बजेट कार्यान्वयनको चटारो हुनुपर्नेमा मन्त्री नहुँदा दुवै काम प्रभावित बनेका कर्मचारीहरुले बताएका छन्। आगामी बजेटको ‘सिलिङ’ यसअघि नै तोकिइसकेको भए पनि मन्त्री नभएकाले मातहतका कार्यालयलाई बाँडफाँट गर्न नसकिएको उनीहरुले बताएका छन्।
सिलिङ बाँडफाँटका लागि मन्त्रीको निर्णय चाहिन्छ। नेतृत्व नहुँदा आगामी योजना तर्जुमा प्रक्रिया अगाडि बढाउन गाह्रो भइरहेको उनीहरुले बताएका हुन्। मन्त्री नहुँदा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले ठाउँ, ठेगाना फरक परेर सामान्य त्रुटि भएका एक दर्जन योजना सच्याउन सकेको छैन। मन्त्रालयका अनुसार योजनाका त्रुटि सच्याउन मन्त्रीस्तरीय निर्णय गरेर आर्थिक मामिला मन्त्रालयमा पठाउनुपर्छ। आर्थिक वर्षको अन्त्यतिर पनि ती योजनाहरू कार्यान्वयनमा नजाँदा सम्पन्न गर्न चुनौती बनेको बताइएको छ।


