काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचारमा संलग्न जोसुकै भएपनी दोषीलाई कारबाही हुनुपर्ने बताएका छन् । बिहीबारदेखि काठमाडौंमा सुरू भएको एमाले केन्द्रीय कमिटीको बैठकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले सो कुरा बताएका हुन्।
उनले भ्रष्टाचार प्रकरणमा उच्च पदस्थ व्यक्तिहरू र एमालेकै नेताहरूको नामसमेत आइरहेको भन्दै जोसुकैको नाम आए पनि दोषी भए कारबाहीको दायरामा ल्याउनुपर्ने बताए। उनले एमालेलाई प्रतिशोध राखेर वा पूर्वाग्रहपूर्ण ढंगले फसाउने फसाउने प्रयास भएको अवस्थामा भने एमाले चुप लागेर नबस्ने बताए । उनले अनुसन्धानलाई अर्कोतिर लैजाने र अनावश्यक रूपमा पूर्वाग्रहपूर्ण ढंगले निर्दोषलाई फसाउने, आरोप लगाउने काम भने हुन नहुने बताए।
‘अहिले नक्कली भुटानी शरणार्थी प्रकरणमा विभिन्न व्यक्तिहरूको नाम आइरहेको छ, हाम्रै साथीहरूको नाम पनि परेको छ, यसमा हामी प्रष्ट हुनु जरुरी छ कि भ्रष्टाचार गर्ने कार्यमा जो सुकैको नाम आओस्, यदि दोषी छ भने उसलाई कारबाही हुनुपर्छ। तर जबसम्म मान्छे दोषी ठहर हुदैन, त्यतिबेलासम्म हामीले त्यस्तो आरोप लागेको व्यक्तिलाई दोषी करार गरिहाल्नु हुँदैन।’ उनले एमालेलाई प्रतिशोधपूर्ण ढंगले वैमनास्यता साँधेको अवस्थाबारे भने आफूहरू सजग हुनुपर्ने बताए। ‘दोषीलाई समातेर कठघरामा ल्याउनुपर्छ।
तर कसैलाई फसाउनका लागि अनुसन्धानलाई कतातिर लैजाने भनेर चलखेल भएको, षड्यन्त्र भएको भन्ने प्रयास हुन्छ भने त्यो स्वीकार्य हुँदैन,’ उनले भने, ‘पूर्वाग्रहपूर्ण ढंगले, निराधार ढंगले आरोप लगाउने र फसाउने, एमालेविरुद्ध लगातार वैमनस्यता प्रकट हुँदै आएको छ, यस्ता कुरामा हामी सजग हुनुपर्दछ।’ उनले राज्यको ढुकुटी छलछाम गरेर खल्तीमा हाल्ने काममा जोकोही भए पनि त्यसको प्रतिरोध गर्नुपर्ने बताए । उनले भ्रष्टाचारीको विरुद्वमा कसैले बोल्यो भने उसको मुख थुन्ने प्रयास भइरहेको बताए।
अहिले भ्रष्टाचार भन्नेबित्तिकै उसको मुख थुनिदिने प्रवृत्ति मौलाएको छ। अनि कसैले उजुरी दियो भने त्यो त भ्रष्टाचारी हो भनेर दोषी करार गरिहाल्ने प्रवृत्ति छ, यो सही छैन,ु उनले भने, ुअमरेशकुमार सिंहले संसद्मा भ्रष्टाचारको विरोध के गरेका थिए कि अहिले उनीविरुद्व अख्तियारमा उजुरी नै परिसकेको छ। कसैले बोल्यो कि उसको मुख थुन्दिहाल्ने प्रवृत्ति देखिन्छ । अनि कसैले प्रतिशोधमा उजुरी दियो भने हामी पत्याइदिइहाल्छौँ, हामी कहाँ त्यो खालको परपीडक मानसिकता भएको समाज पनि छ।


