धनगढी। सुदूरपश्चिम सरकारमा नागरिक उन्मुक्ति पार्टी दुई मन्त्रीसहित सहभागी हूँदैछ। बुधबार नागरिक उन्मुक्तिको संसदीय दलको बैठकले दुई जना मन्त्री बनाउने निर्णय अनुसार संसदीय दलको नेता र प्रमुख सचेतक फेरेको छ। बैठकले रामेश्वर चौधरीलाई दलको नेताबाट हटाएर घनश्याम चौधरीलाई नै दलको नेता बनाउने निर्णय गरेको हो।
रामेश्वर र लक्ष्मणकिशोर सरकारमा सहभागी हुने भएकाले नेता र प्रमुख सचेतक फेरिएका हुन्। यसअघि प्रमुख सचेतक रहेका लक्ष्मणकिशोर चौधरीलाई हटाएर प्रमुख सचेतकको जिम्मेवारी खुसीराम चौधरी र सचेतकको जिम्मेवारी कैलाश चौधरीलाई दिइएको छ। यसअघि दलको नेता रहेका रामेश्वरले आफूहरू दुईजना सरकारमा सहभागी हुने भएपछि संसदीय जिम्मेवारी अरूलाई दिइएको बताए। दुई मन्त्रीसहित आफ्नो पार्टीमा सरकारमा सहभागी हुन लागेको उनले बताए ।
काठमाडौंमा गठबन्धनका शीर्ष नेताहरूलाई भेटेर फर्केका मुख्यमन्त्री कमलबहादुर शाहले सरकार विस्तार गर्ने तयारी थालेका छन्। रामेश्वरले सरकारमा सहभागी हुन संसदीय जिम्मेवारी अरूलाई दिने भएकाले विवाद नभएर पार्टीको सहमति अनुसार जिम्मेवारी हेरफेर गरिएको बताए। सचेतकको जिम्मेवारी पाएका कैलाश चौधरीले सरकार विस्तार हुँदा नै नागरिक उन्मुक्तिले २ मन्त्रालय र एक राज्य मन्त्री पाउने सहमति गरेको भन्दै ती दुई मन्त्रालयमा जिम्मेवारी पाउने नेताहरूको जिम्मेवारी हेरफेर गरिएको बताए। बैठकमा लक्ष्मण किशोर चौधरी, धनश्याम चौधरी, खुसीराम चौधरी र कैलाश चौधरी उपस्थित थिए। इन्दिरा गिरी बैठकमा उपस्थित भएपनि हस्ताक्षर भने गरिनन् । त्यस्तै बैठकमा रामेश्वर चौधरी र टिका थापा भने उपस्थित थिएनन्।
आफ्नो उपस्थिति नभएको बैठकमा आफ्नो जिम्मेवारी खोसेको विषयले रामेश्वर रुष्ट रहेको स्रोतले बताएको छ। आज बैठक बस्नु अघि रामेश्वर चौधरीले घनश्याम चौधरीलाई फोन सम्पर्क गर्दा उनले तत्काल त्यस्तो निर्णय नगर्न आग्रह गरिएको बताइएको छ। घनश्याम चौधरीले भने भद्र सहमति कार्यान्वयन गर्न र संसदीय दलको नेताकै उपस्थितिमा बैठक बसाउन उनलाई आग्रह गरेका थिए। घनश्यामको आग्रह पछि पनि रामेश्वर नआएपछि उनको उपस्थिति विना नै दलको नेता परिवर्तन गरिएको हो। २ मन्त्रालय पाएको अवस्थामा आजबाट जिम्मेवारी विहीन भएका रामेश्वर चौधरी र लक्ष्मण किशोर चौधरी मन्त्री बन्ने छन्। १ मन्त्रालय पाएको अवस्थामा फेरी दुबै बिच मन्त्रीका लागि प्रतिस्पर्धा हुने कतीपपको बुझाई छ। अहिले ४ मन्त्रालय मन्त्री विहीन बनेको अवस्थामा माओवादी केन्द्रले तीन मन्त्रालयको दाबी गरिरहेको छ।
यस्तो अवस्थामा नागरिक उन्मुक्तिले एकै मन्त्रालयमा मात्रै पनि चित्त बुझाउनु पर्ने हुन सक्छ। नागरिक उन्मुक्तिमा ७ सांसद छन् । नागरिक उन्मुक्तिले प्रदेशमा कांग्रेस नेतृत्वको सरकारलाई विश्वासको मत दिएको थियो। नागरिक उन्मुक्ति केन्द्रमा सरकारमा सहभागी छ ।कांग्रेस संसदीय दलका नेता शाह २६ माघमा मुख्यमन्त्री नियुक्त भएका थिए। २७ माघमा शपथ लिएकै दिन कांग्रेसका प्रकाशबहादुर देउवा भौतिक पूर्वाधार विकास र एकीकृत समाजवादीका नरेशबहादुर शाही आर्थिक मामिलामन्त्री नियुक्त भएका थिए। मुख्यमन्त्री शाहले माओवादी र गठनबन्धनमा आबद्ध अर्को दल नागरिक उन्मुक्ति पार्टीलाई सरकारमा सहभागी गराउन सकेको छैन् । मुख्यमन्त्री शाहले माओवादीलाई पनि समेटेर सरकार विस्तारको तयारी थालेका छन्।


