काठमाडौं। नेपाली कांग्रेसका नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका खाँणलाई प्रहरीले बुधबार बिहान निवासबाटै पक्राउ गरेको हो ।
भुटानी शरणार्थी प्रकरणसम्बन्धी अपराधमा तानिएपछि काठमाडौं प्रहरी परिसरको टोलीले खाँणलाई बुधबार बिहान मैजुवहालस्थित उनकै निवासबाट प्रहरीले पक्राउ गरेको हो। उनलाई प्रहरी परिसर टेकु लगिएको छ । काठमाडौं प्रहरी परिसर प्रमुख दानबहादुर कार्कीले पूर्व गृहमन्त्री खाँणलाई सोधपुछ पछि घर जान दिने कि नियन्त्रणमा राख्ने भनेबारे निर्णय लिने बताए।
यही प्रकरणमा मुछिएका पूर्व उपप्रधानमन्त्री एवम् नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी भने फरार छन्।प्रहरीले खाँण गृहमन्त्री हुँदा मन्त्रालयमा सचिव रहेका टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई लगायतलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।आफू गृहमन्त्री हुँदा खाँणले रोजेका तत्कालीन गृह सचिव टेकनारायण पाण्डेसहित १० जना सबुतसहित पक्राउ परिसकेका छन् । प्रहरी हिरासतमा रहेका नेपाल सरकारका सचिव पाण्डेले पूर्वगृहमन्त्री बालकृष्ण खाँणको समेत नाम लिएका थिए। आरोपितहरूको बयानका आधारमा अनुसन्धानमा खाँण तानिएका हुन् ।


