काठमाडौं। नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगेको घटनामा संलग्न भएको आरोपमा थप २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं टोखाका रामशरण केसी र मोरङका गोविन्द चौधरी रहेका छन्। उनीहरुलाई उपत्यका अपराध अनुसन्धान काठमाडौंको टोलीले पक्राउ गरेको हो।
योसँगै यो प्रकरणमा पक्राउ पर्नेको संख्या १० पुगेको छ। यसअघि प्रहरीले पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंककुमार गुरूङ र नेकपा एमाले सचिव एवं सांसद टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई पक्राउ गरिसकेको छ। पक्राउ पुर्जी जारी भएका टोपबहादुर रायमाझी भने फरार छन् । पक्राउ परेकाहरुले दिएको बयानका आधारमा अनुसन्धान गर्दा उनीहरुको पनि संलग्नता देखिएकाले अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


