धनगढी। जहाजको ल्यान्डिङ गियर (पाङ्ग्रा) अड्किने समस्या धनगढीपछि भैरहवामा पनि दोहोरिएको छ। भैरहवामा पनि दोहोरिएपछि नागरिक उड्डयन प्राधिकरणले श्री एयरलायन्सको एउटा विमान र उक्त विमानको मर्मतमा संलग्न इन्जिनियरलाई ‘ग्राउन्डेड’ गरिदिएको छ ।
प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले भैरहवामा सोमबार जहाजको अगाडीको नोज ल्यान्डिङ गियरसँग सम्बन्धित समस्या शनिबार धनगढीबाट काठमाडौं उड्नुअघि पनि देखिएको बताए । उनले श्रीको अल्फा नोभेम्बर इको जहाजलाई भैरहवामा र ल्यान्डिङ गियर मर्मतमा संलग्न इन्जिनियरलाई काठमाडौंमा ग्राउन्डेड गरिएको बताए ।
भैरहवामा ग्राउन्डेड गरिएको बमबार्डियर ड्यास क्यू–४०० विमानको मर्मत भइरहेको छ । नोज ल्यान्डिङ गियरको समस्या नभई त्यसको ढक्कनमा समस्या देखिएको भैरहवा विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेले बताए । प्राविधिकहरू यो जहाज उत्पादकसँगै परामर्श गर्दै मर्मतमा लागिरहेका बताए ।
महाप्रबन्धक पाण्डेका अनुसार प्राविधिकहरूले जहाजको अगाडि रहेको नोज ल्यान्डिङ गियरमा समस्या नरहेको तर, जहाज उडिसकेपछि गियर जहाजको भित्री संरचनामा पसेपछि ढक्कन स्वतः खुल्ने गरेको समस्या देखिएको बताएका छन् । यो समस्या समाधान गर्न श्रीले विदेशबाट स्पेयर पार्ट्स मगाइसकेको भन्दै ल्यान्डिङ गियरसँग सम्बन्धी सम्पूर्ण पार्टपुर्जा फेर्ने जानकारी भैरहवा विमानस्थललाई दिएको छ । ७६ जना यात्रु बोकेर काठमाडौंका लागि उडेको श्री एयरलायन्सको जहाजको ल्यान्डिङ गियर (पांग्रा) अड्किँदा सोमबार भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल झन्डै १ घन्टा अवरुद्ध भएको थियो । उक्त विमानबाट काठमाडौं आउन लागेका यात्रुलाई तीन घण्टापछि श्रीको अर्को जहाजले काठमाडौं ल्याएको थियो ।
यसअघि शनिबार काठमाडौंबाट यात्रु लिएर गएको श्रीको नाइनएन–अल्फा नोभेम्बर इको जहाजमा यस्तै समस्या देखिएको थियो । सहप्रवक्ता भुलका अनुसार त्यसदिन यस जहाजको अगाडीको नोज ल्याण्डिङ्ग गियरमा समस्या देखिएको थियो । त्यस दिन श्रीले धनगडीमा पनि अर्को जहाज पठाएर समस्या देखिएको विमानलाई मर्मत गरेर मात्रै काठमाडौं ल्याइएको थियो । सहप्रवक्ता भुलका अनुसार श्रीसँग आन्तरिक उडानका लागि ८ वटा विमान छन् । तीमध्ये हाल ३ वटा सीआरजे र एउटा ड्यास–८ विमान उडानयोग्य छैनन् । उसले दैनिक उडानमा तीनवटा ड्यास–८ र एउटा सीआरजे गरी चारवटा विमान उडाउँदै आएकोमा सोमबारदेखि एउटा जहाज फेरि ग्राउन्डेड गरिएसँगै अब यो कम्पनीसँग तीनवटा मात्रै जहाज उडानमा रहनेछन् । भैरहवा–काठमाडौं हाल दैनिक दुईतर्फी २२ वटा उडान हुन्छन् । यिनमा श्रीले चारवटा उडान तालिका राखेको छ ।


