कैलाली। सुदूरपश्चिम प्रदेशमा सरकार विस्तारलाई लिएर भागबन्डा मिलाउन सकस पर्ने भएको छ। सरकार विस्तार र भागबन्डा मिलाउन मुख्यमन्त्री कमल बहादुर शाहसहितको टिम सहमतिका लागि आइतबार नै संघीय राजधानी काठमाडौं पुगेका छन् ।
मुख्यमन्त्री साथमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित सांसद पनि छन्। मुख्यमन्त्री शाहसँग भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवा, नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता खगराज भट्ट, उपनेता अक्कल रावल र सांसद ओम विक्रम भाट सरल पनि काठमाडौं पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेका हुन् । मुख्यमन्त्री शाह नियुक्त भएको यही वैशाख २७ गते तीन महिना पुग्दै छ।
सुदूरपश्चिममा ७ मन्त्री, ४ राज्यमन्त्रीसहित ११ सदस्य मन्त्रीमण्डल बनाउन सकिने संवैधानिक व्यवस्था छ। सरकारमा माओवादी केन्द्रले ३, नागरिक उन्मुक्ति पार्टीले २, मन्त्रालयमा दाबी गरेको छ। माओवादी केन्द्रले भौतिक पूर्वाधार विकास मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालय मध्ये एक मन्त्रालय माग गरेको छ। त्यस्तै सामाजिक विकास मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मध्ये एक मन्त्रालय पनि माओवादीको माग छ । माओवादीको पहिलो रोजाइमा भौतिक पूर्वाधार विकास र आर्थिक मामिला तथा योजना मन्त्रालय मध्ये एक पाउनु हो ।
तर, यी दुवै मन्त्रालयमा अहिले मन्त्री नियुक्त भइसकेका छन् । माओवादी मन्त्रालयको लागि आधा दर्जन आकाङ्क्षी छन् । माओवादीबाट संसदीय दलका नेता खगराज भट्ट, ओम विक्रम भाट सरल, झपट साउद, अक्कल रावल, रमेश धामी, शिव ओलीलगायतका मन्त्री बन्ने दौडमा छन् ।कांग्रेसबाट भौतिक पूर्वाधार विकास मन्त्रालयमा कांग्रेस सभापति शेरबहादुर देउवाका भतिजा प्रकाश देउवाले सम्हालिरहेका छन् । भने आर्थिक मामिला तथा योजना मन्त्रालयमा नेकपा एकीकृत समाजवादीका नरेश शाही छन् । कांग्रेसले पनि आफूले थप एक मन्त्रालय पाउनुपर्ने अडान लिएको छ ।यी दुवै मन्त्रालयमा मुख्यमन्त्री शाहले विश्वासको मत पाउनु भन्दा अघि नै मन्त्री नियुक्त गरेका हुन्।अहिले माओवादीले रोजेको मन्त्रालय कांग्रेस र नेकपा एकीकृत समाजवादी दुवैले छोड्न मानेका छैनन्।
यी दुई मन्त्रालय मध्ये एक मन्त्रालय नपाए माओवादी केन्द्रले तीन मन्त्रालयको दाबी गरेको छ। प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई माओवादी सांसदहरूले भौतिक पूर्वाधार विकास मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालय मध्ये एक र सामाजिक विकास मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी मध्ये एकमा अडान लिन आग्रह गरेका थिए । उनीहरूले पहिलो रोजाइका दुई मन्त्रालय नपाउने अवस्थामा माओवादीले प्रदेशमा तीन मन्त्रालय पाउनु पर्ने समेत बताएका थिए ।
यस्तै दुई मन्त्रालयको दाबी गर्दै आएको नागरिक उन्मुक्ति पार्टीले सरकारमा जाने सांसदहरूको नाम टुंगो लगाएको छ । पार्टीका संसदीय दलका नेता रामेश्वर चौधरीले आफू र प्रमुख सचेतक लक्ष्मण किशोर चौधरीको नाम पार्टीले टुंगो लगाएको जानकारी दिए । आफूहरूले सामाजिक विकास मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा आफूहरूको दाबी रहेको बताउँदै दुई मन्त्रालय नपाए सरकारमा नजाने दाबी गरेको छ। प्रचण्डले आज गठबन्धनका दलहरूको बैठकमा सबै भागबन्डा टुङ्गो लगाउने आश्वासन दिएका थिए । तर अहिलेसम्म मन्त्रालय टुङ्गो लागीसकेको छैन् । जसकारण मन्त्रालय भागबण्डा मिलाउन मुख्यमन्त्रीलाई पनी सकस परेको छ ।


