काठमाडौँ। संसद बैठकमा सांसदहरुले भ्रष्टाचारका सबै प्रकरणको छानबिन गर्नुपर्ने माग गरेका छन् ।संसद अधिवेशनको बैठकमा सांसदद्वय प्रेम सुवाल र अमरेशकुमार सिंहले भ्रष्टाचारका सबै प्रकरणको छानबिन गर्नुपर्ने बताएका हुन्।
हालसम्म देशमा भएका र समाचारमा आएका भ्रष्टाचारका प्रकरणमा छानबिन गरेर दोषीमाथि कारबाही गर्नुपर्ने उनीहरुले माग गरे ।नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन भएका ठगीसहितका भ्रष्टाचारका प्रकरण छानबिन गर्न उनीहरुले माग गरे । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले गत भदौ महिनामै नक्कली भुटानी शरणार्थीको विषय संसद्मा उठेको भन्दै त्यसबेला सरकारले वेवास्ता गरेको बताएका छन् ।
‘अहिले पत्रपत्रिकाहरुमा नक्कली भुटानी शरणार्थीको आएका छन् । तर यो नयाँ विषय भने होइन । गत भदौ २२ गते राष्ट्रिय सभामा एमालेको सासद पार्वती रावलले यस विषयमा गम्भीरताका साथ सरकारको ध्यानाकर्षण गराउनुभएको थियो,’ गिरीले भने, ‘त्यस विषयमा सरकारले सुन्ने काम गरेन । आजसम्म लत्याउने काम भयो । भुटानी शरणार्थी मात्रै नभएर अन्य विषयमा पनि छानबिन हुनुपर्छ । प्रधानमन्त्रीले यो भ्रष्टाचार छानबिनको ट्रेलर मात्रै भएको र पुरै फिल्म देखाउन बाँकी रहेको बताउनुभएको छ । हामी टिकट काटेर फिल्म हेर्न आएका छौं ।’उनले बाइड बडी घोटाला, बाँसबारी जग्गा घोटाला काण्ड, बालमन्दिर जग्गा घोटाला काण्ड, ललिता निवास, यति, ओम्नी घोटाला काण्डको विषयमा छानबिन गर्नुपर्ने बताए ।


