काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार १०औँ पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्री सुरेन्द्रराज आचार्यलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।
नेपाली कांग्रेसबाट मन्त्री बनेका आचार्यलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिइएको छ । त्यस्तै नेपाल समाजवादी पार्टीका महेन्द्रराय यादवलाई खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको छ । यसअघि खानेपानी मन्त्रालय जनमत पार्टीले लिएकामा असन्तुष्टिसँगै जनमत सरकारबाट बाहिरिएको थियो ।सो मन्त्रालयको जिम्मेवारी यसअघि मन्त्री महिन्द्र राय यादवले सम्हाल्दै आएका थिए ।
अहिले यादवलाई खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। प्रधानमन्त्री प्रचण्डले पुसमा एक, माघमा तीन, फागुनमा दुई, चैतमा एक र बैशाखमा तीनपटक मन्त्रिपरिषद् विस्तार गरेका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार ११ पुस, १०, १४ र २३ माघ, १४ र १६ फागुन, १७ चैत र ३, २१ र २४ बैशाखमा मन्त्रिपरिषद् गठन र विस्तार गरिएको हो ।


