दार्चुला। दार्चुला हिमपहिरोमा बेपत्ता तीन जनाको शव अक्करे भिरमा फेला परेको छ । दार्चुलाको ब्याँस गाउँपालिका–१ छाङरुस्थित भोलुम डाँडामा हिमपहिरोमा परी बेपत्ता भएका ५ मध्ये ३ जनाको शव अक्करे भिरमा अड्किएको अवस्थामा भेटिएको हो । दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप धामीले पहिरो गएको स्थानबाट करिब ५ सय मिटर तल ३ जनाको शव भीरमा अड्किएको देखिएको जानकारी दिए। शवलाई डोरीको सहायताले शव खोँचमा झार्ने प्रयास भइरहेको बताए।
मंगलबार दिउँसो यार्सा संकलनका लागि १२ जनाको समूहमा रहेका मध्ये ५ जना तल फर्कने क्रममा हिमपहिरोमा परेर हराइरहेका थिए। भीरमा देखिएका ३ शव मध्ये एउटा दार्चुलाकै दुँहु गाउँपालिका–४ पोक्सीका १८ वर्षीय प्रविण कुँवरको भएको खुलेको छ। उनी आमासँग यार्सा टिप्न उक्त लेकतर्फ उक्लिएका थिए। ४ महिला र एकजना पुरुष पहिरोपछि बेपत्ता भएका थिए।
भारी वर्षा र हिमपातका कारण छाङरुको गाँगाबगरस्थित सशस्त्र प्रहरीको ५० नं गुल्म र सीतापुलमा रहेको नेपाल प्रहरीको टोली ढिलोगरी आज त्यहाँ पुगेको छ। एउटा टोली भिरमा माथि चढेको छ। अर्को तल खोँचमा बसेको छ।
हिमपहिरोमा बेपत्ता हुने सबै यार्सागुम्बा संकलक हुन। पहिरोले पुरिएका ७ जनाको सुरक्षाकर्मीले हिजै उद्धार गरेर छाङरु ल्याएका थिए। छाङरु गाउँको पूर्व दुई–अढाई घण्टाको पैदल दूरीमा रहेको भोलुम डाँडामा अहिले पनि ५ फीट भन्दा बढी हिउ जमेको छ। उक्त क्षेत्रमा ४ दिनदेखि निरन्तर हिमपात भइरहेको छ।

