चितवन। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार पाँचै वर्ष चल्ने दाबी गर्दै रवि लामिछानेलाई सरकारमा सहभागी हुन आहृवान गरेका छन् । चितवनमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले जुनसुकै भ्रष्टाचारका फाइल खोल्न आफू तयार रहेको बताउँदै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई सरकारमा आउन भनेका हुन् ।
लामिछानेलाई जवाफ दिंदै प्रचण्डले भने, ‘सरकारमा आउनुस् भ्रष्टाचारको कुनचाहिँ फाइल खोल्नु पर्यो म खोल्न तयार छु ।’यसअघि रास्वपाका सभापति लामिछानेले सरकारले भ्रष्टाचारका फाइल खोल्न तयार नभएकोले समर्थनसमेत फिर्ता लिने बताएका थिए ।प्रचण्डले रास्वपा सरकारमा आए भ्रष्टाचारबाहेकका अन्य विषयहरु पनि नीति तथा कार्यक्रममा सामेल गराउन सकिने बताएका छन् ।
रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता नलिनेसमेत प्रचण्डको दाबी छ । ‘समर्थन फिर्ता लिने स्थिति म देख्दिनँ । सरकारमा सहभागी हुने विषयमा छलफल भइराखेको छ,’ उनले भने ।अहिले सरकार परिवर्तन हुने विषय पनि भ्रममात्रै भएको प्रचण्डले दाहोर्याए । ‘सरकार यताउता हुन्छ भन्ने निकै ठूलो भ्रम हो । सरकार पाँच वर्ष नै चल्छ,’ उनले भने ।
सरकारले भष्ट्राचारको फाइल खोल्न आफू तयार रहेको बताएका छन् । पाँच वर्षभित्र भष्ट्राचारको विषयमा उजुरी गरिसक्नुपर्ने भन्ने सन्दर्भमा त्यस्तो नीति नै नभएको स्पष्ट पारे । सरकारले भष्ट्राचारको फाइल नखोल्ने नभनेको बताउँदै भष्ट्राचारको विषयमा कुनै सम्झौता नहुने बताए ।राष्ट्रिय स्वतन्त्र पार्टीले भष्ट्राचारको फाइल नखोले सरकारमा जान कुनै औचित्य नहुने बताएपछि प्रधानमन्त्री प्रचण्डले आफूले भष्ट्राचारको फाइल नखोल्ने नभनेको स्पष्ट पारेका हुन्।उनले रास्वपाका सभापति रवि लामिछानेलाई सरकारमा आउन आग्रह गरेका छन् । ‘ यो सरकारले भ्रष्ट्राचारको फाइल नखोल्ने भनेको छैन ,उनले भने ,‘ आउनुस् भ्रष्ट्राचारको कुन फाइल खोल्न पर्यो, म तयार छु । ’
सरकारको नीति तथा कार्यक्रममा रास्वपाले भनेको बुँदा जायज भए सामेल गर्न सरकार र गठबन्धनलाई कुनै अप्ठ्यारो नहुने बताए ।यस्तै प्रधानमन्त्री प्रचण्डले ‘अनुसन्धान,नवप्रवर्तन र आविष्कार कोष’को काम अघि बढाउने भन्दै आन्दोलनमा उत्रिएका राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनको मागको विषयमा सम्बोधन गर्ने प्रतिवद्धता जनाइसकेको बताए ।
पुनले सुरु गरेको धर्ना कार्यक्रमप्रति लक्षित गर्दै प्रचण्डले पुनको आन्दोलनमा सरकारले वास्ता नगरेको नभइ सल्लाहमै माइतीघर मण्डलामा धर्ना बसेको बताए । पुनले आन्दोलन थालेको अघिल्लो दिनमा बालुवाटारमा भएको छलफलमा सकारात्मक निष्कर्ष सहित छुटिएको बताउँदै उनको आन्दोलनले बजेट निमार्णमा थप सहज भएको बताए ।पुन संघीय र प्रदेश सरकारले कम्तिमा १ प्रतिशत रकम छुट्याउनुपर्नेलगायतका माग राखेर उनी आन्दोलनमा उत्रेका हुन् । प्रधानमन्त्री प्रचण्डले सरकारकै सल्लाहमा महावीर पुन माइतीघर मण्डलामा आन्दोलनमा बसेको बताए । ‘सरकारले वास्ता नगरेको होइन । पहिला जीडीपीको एक प्रतिशत भन्ने सोचाइ रैछ । अहिले देशको आर्थिक स्थितिका कारण विकास खर्चको एक प्रतिशत भन्ने रहेछ । मैले बजेटमा तपाईंको माग सम्बोधनमा मेरो पुरै प्रयास हुन्छ भनेको छु ,’प्रचण्डले भने ,‘ उहाँले हिँड्ने बेलामा मत माइतीघर मण्डलामा बस्छु है कस्तो हुदो रैछ भनेर हाँसीहाँसी भन्नुभएको थियो ,मैले नै माइतीघरमा बस्नुस् त भन्न मिलेन तर तपाईं बस्नुभयो भने बजेट बनाउन मलाई मद्दत पुग्छ भनेको थिए । मैले सल्लाहमै जानुभएको बुझेको छु । ’


