काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बहुचर्चित महाकाली सन्धि नेपालको हितमा रहेको दाबी गरेका छन्। अखिल नेपाल किसान महासंघको कार्यक्रमलाई आइतवार सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले महाकाली सन्धिका कारण अहिले पनि नेपालले वार्षिक चार अर्ब फाइदा पाइरहेको दाबी गरे ।
कोही नबुझी वितेर गए तिनका सन्तानले भए पनि यसबारे पछि बुझ्ने ओलीको दाबी छ । ‘२०५४ सालमा महाकाली सन्धिको अत्तो थापेर पार्टी फुटाउने काम भयो । महाकाली सन्धि नबुझ्नेले अलि पछि बुझ्छन्। कोही नबुझि बितेर गए तिनका सन्तानले बुझ्छन्’ ओलीले भने, ‘महाकाली सन्धि सच्चाइएको सन्धि हो । प्रतिपक्षमा हुँदा पनि हामीले त्यसलाई सच्चाएका हौँ । सम्झौता गरेकोले अहिले पनि वर्षमा चार अर्ब विद्युतको नेपालले पाइरहेको पाइरहेको छ।
पश्चेश्वरका अनेक फाइदा छन्’। तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सम्झौतालाई समझदारी भनेर ढाटेको ओलीले आरोप लगाए । ‘गिरिजाप्रसाद कोइरालाले सम्झौता होइन सहमति भनेका थिए, हामीले सम्झौता हो भनेर सच्चाउन दबाब दिएका थियौँ। नेपाली जमिन दिने होइन जमिनमा बाँधसम्म बाध्न दिएका हौँ’ ओलीले भने । पार्टी विभाजनको सन्दर्भ जोड्ने क्रममा ओलीले महाकालीको प्रसंग निकालेका थिए । २०५३ असोज ४ गते भारतसँग भएको महाकाली सन्धिलाई संसदबाट अनुमोदन गर्ने नगर्ने भन्ने विवाद उत्कर्षमा पुगेपछि नेकपा एमाले फुटेर माले बनेको थियो ।


