कैलाली। कैलालीको अत्तरियामा युवाहरु सडकमा उत्रिएका छन्। राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले सुरु गरेको धर्नामा समर्थन जनाउँदै अत्तरियाका युवाहरु सडकमा उत्रिएका हुन् । ४ बुँदे माग राखेर शुक्रबार देखि काठमाण्डौंको माइतीघरमा पुनले सुरु गरेको धर्नामा समर्थन जनाउँदै अत्तरिया क्षेत्रका युवाहरु सडकमा उत्रिएका हुन ।
स्वस्फुर्त रुपमा सडकमा उत्रिएका युवाहरुले महावीर पुनले उठाएका माग सम्बोधन गर्न सरकारलाई दवाव दिने नारा लेखिएका पोष्टर लिएर आधा घण्टा सडकमा उभिएका हुन् ।
उनीहरुले ‘देश विकासमा एक कदम अघि सरौं, डा. महावीर पुनको अनुभवलाई सदुपयोग गरौं’, नव उद्यमीको सीपलाई प्रोत्साहन गर, देश विकासमा टेवा पु–याउनेलाई सम्मान गर’, देश मै रोजगार सिर्जना गर्नेलाई स्वदेश कै बस्तु उपभोग गर्नेलाई’ लगाइतका नारा लेखिएका पम्पलेट बोकेका थिए ।
समर्थमा सडकमा पुगेका युवा पुस्कर शर्मा जोशीले आफ्ना सबै कुरा त्याग गरेर नेपालमा नयाँ–नयाँ आविस्कार गर्नुपर्छ भनेर लागेका महावीर पुनको मागलाई सरकारले सम्बोधन गर्नुपर्ने बताए । उनले महावीर पुनको मागमा आफूहरुले समर्थन जनाउँदै सडकमा आएको बताए । समर्थनमा सहभागी प्रमोद अधिकारीले महामवीर पुनले गरेको योगदानलाई राज्यले चिन्न आवश्यक रहेको बताए । उनले राष्ट्रमै बसेर केही गर्छु भनेर अगाडी बढ्नेका लागि राज्यले वातावरण बनाउन आवश्यक रहेको बताए । महावीर पुनका माग सम्बोधन गर्न सरकारलाई दवाव दिन भोलि पनि अत्तरिया चोकमा आधा घण्टा उभिएर समर्थन जनाउने उनीहरुले बताएका छन् । यस्ता छन महावीर पुनका माग——-१. अनुसन्धान, नवप्रवर्तन र आविष्कार गर्ने प्रतिभाशाली र सिर्जनशील नेपालीहरूलाई अनुसन्धान गर्ने काममा ठोस सहयोग गर्न हरेक वर्ष संघीय र प्रदेश सरकारले आफ्नो विकास बजेटको १ प्रतिशत रकम छुट्याउनु पर्ने र ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कार कोष’ मा राख्नुपर्ने। सो कोषबाट नेपालका सम्पूर्ण प्रतिभाशाली सन्ततिहरूलाई आवश्यक अनुसन्धान, नवप्रवर्तन र आविष्कार गर्न सहयोग गर्नुपर्ने। कोषमा जम्मा भएको रकम सोही वर्ष खर्च नभए आगामी वर्षमा पनि खर्च गर्न पाउने व्यवस्था गर्नुपर्ने ।
२. सो कोषको रकम सहज तरिकाले समयमा नै प्रतिभाशाली र नवीनतम् सोच भएका नेपालीहरूलाई उपलब्ध गराउन संसदले नेपाल सरकारको सार्वजनिक खरिद ऐनभन्दा छुट्टै ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कार प्रवर्द्धन, सञ्चालन तथा खरिद ऐन’ बनाउनुपर्ने र आवश्यकताअनुसार अनुसन्धानको कामलाई बहुवर्षीय कार्यक्रममा राख्न मिल्ने गरी नीति नियम बनाइनु पर्ने ।
३.अनुसन्धान, नवप्रवर्तन र आविष्कार गरेर बनेका र सफलतापूर्वक परीक्षण गरिएका चिजलाई उत्पादन गरी नवउद्यमी बन्न चाहने नेपालीहरूलाई उद्यम सुरू गर्नको लागि चाहिने अनुमति, लाइसेन्स, अनुदान र सहज ऋण उपलब्ध गराउनु पर्ने र स्वदेशी उत्पादनलाई बजारीकरण गर्न ठोस सहयोग गर्ने नीति नियम बनाउनु पर्ने। सो कामलाई सहज बनाउन र आवश्यकताअनुसार नीति नियम बनाउनका लागि ‘नव उद्यमी प्रवर्द्धन समिति’ बनाउनु पर्ने र सो समितिले सरकारलाई आवश्यक कदम चाल्न अनुरोध गर्ने व्यवस्था गर्नुपर्ने।
४. प्राइभेट अनुसन्धान केन्द्र, मुनाफा वितरण नगर्ने अनुसन्धान केन्द्र र विश्वविद्यालयहरूमा व्यवहारिक अनुसन्धानलाई उच्च प्राथमिकताका साथ प्रोत्साहन गर्न र प्रवर्द्धन गर्नका लागि विज्ञान मन्त्रालयअन्तर्गत ‘व्यवहारिक अनुसन्धान र नवप्रवर्तन विभाग’ खोल्नुपर्ने। उक्त विभागलाई देशका प्रतिभाहरूलाई विदेश पलायन हुन नदिन र विदेश पलायन भैसकेका प्रतिभाहरूलाई के कसरी र कुन रूपमा हुन्छ स्वदेश फिर्ता ल्याउन र उनीहरूबाट फाइदा लिनको लागि चाल्नु पर्ने ठोस वातावरण तयार गर्ने पूर्ण अधिकारसहित जिम्मा दिइनुपर्ने ।


