धनगढी। पुस २६ मा नेकपा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलको नेतृत्वमा सरकार गठन भएको थियो । निवर्तमान मुख्यमन्त्री रावलले नियुक्त गरेका विनाविभागीय दुई मन्त्रीे माओवादीका खगराज भट्टलाई र एमालेकी सन्तोष शर्मा थापालाई जिम्मेवारी भने दिन सकेनन्।
भागबन्डाकै किचलो र विश्वासको मत कै कारण मन्त्रिपरिषद् विस्तार गर्न नपाउँदै उनको नेतृत्वको सरकार एक महिनामै ढल्यो । रावल नेतृत्वको सरकार ढलेकै दिन प्रदेशसभाको ठुलो दलको हैसियतमा नेपाली काँग्रेस संसदिय दलका नेता कमलबहादुर शाह मुख्यमन्त्रीमा नियुक्त भएका थिए। माघ २६ गते मुख्यमन्त्री नियुक्त भएका शाहले २७ गते कांग्रेसबाट भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्रकाश देउवा र नेकपा एकीकृत समाजवादीबाट आर्थिक मामिला तथा योजना मन्त्रालयका नरेश शाहीलाई नियुक्त गरेका थिए।
प्रदेश सभाको दोस्रो कार्यकालसुरु भएदेखी झण्डै चार महिनासम्म प्रदेश सरकार, मन्त्रालय बिस्तार र भागबण्डामै अल्झीएको छ । शाह नेतृत्वको सरकारको तीन महिना पुग्नै लाग्दा पनि मन्त्रीपरिषद बिस्तार नहुँदा उनीसहित तीनजनाको भरमा मात्रै प्रदेश सरकार छ। अझै चारवटा मन्त्रालय मन्त्रीविहीन बनेका छन्। सात सदस्यीय मन्त्रिपरिषद्मा चार मन्त्रालय रिक्त रहँदा पूर्णता दिन सकेका छैनन् । गत २६ पुसदेखि प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, सामाजिक विकास मन्त्रालय,उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालय मन्त्रीविहीन छन्। बैशाख ८ गते बैतडीमा एक कार्यक्रममा मुख्यमन्त्री शाहले बैशाख १० गते हुने उपनिर्वाचनलगत्तै प्रदेश सरकारले पूर्णता पाउने बताएका थिए।
यता सुदुरपश्चिम प्रदेशका सभामुख भीम बहादुर भण्डारीले बैशाख १४/१५ गतेसम्म सदन चल्न सक्ने बताएका थिए । एक हप्ता बित्नै लाग्दा पनी मन्त्रीपरिषद बिस्तारका बारेमा कुनै सुरसार देखीएको छैन् । नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका शाहलाई कांग्रेससहित नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र एक स्वतन्त्र सांसदको समर्थन रहेको छ । तर केन्द्रको समिकरण अनुसार मन्त्रालयको भागबण्डा टुङ्ग्याउन अझै पर्खिनुपर्ने देखीएको छ। कांग्रेस नेतृत्वको सरकारलाई विश्वासको मत दिएको माओवादी केन्द्र, नागरिक उन्मुक्ति र नेकपा एकीकृत समाजवादीले पनि प्रदेश सरकारको नेतृत्व आलोपालोमा पाउनु पर्ने दाबी गरिरहेका छन्।
शाह सरकारमा अब माओवादीले भौतिक पूर्वाधार विकास मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालयमा दाबी गरेको छ । तर, यी दुवै मन्त्रालयमा मन्त्री नियुक्त भइसकेका छन् । यी दुईमध्ये एक मन्त्रालय र थप एक मन्त्रालय दिएर माओवादीलाई मनाउने प्रयास जारी छ। माओवादीले अर्थ र भौतिक मध्ये रोज्ने अवस्थामा भौतिक र सामाजिक रोज्ने मनशाय बनाएको छ । तर, भौतिक मन्त्रालय कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको सहोदर भतिजा प्रकाश देउवाले पाइरहेको हुँदा माओवादीले अर्थ र थप एक मन्त्रालयमा चित्त बुझाउनु पर्ने देखिन्छ । ११ सांसद रहेको माओवादीलाई अर्थ मन्त्रालय दिएर ४ सांसद रहेको नेकपा एकीकृत समाजवादीलाई कुनै अर्काे मन्त्रालय दिने बिषयमा पनि आन्तरिक छलफल भइरहेको स्रोतको दाबी छ ।
माओवादीले पाउने मन्त्रालयको टुङ्गो नलागेको हुँदा ढिलो भइरहेको माओवादी नेताहरू बताउँछन्। त्यसैमा कसलाई मन्त्री बनाउने भन्ने बिषय अझै पेचिलो छ ।माओवादीमा आधा दर्जन सांसद मन्त्रीको लाइनमा छन् । दलका नेता खगराज भट्ट, ओमविक्रम भाट सरल, रमेश धामी, झपट साउद, शिव ओली र अक्कल रावल मध्येबाटै मन्त्री बन्ने छन् ।माओवादीका एक सांसदले पहिले कुन–कुन मन्त्रालय पाउने भन्ने निश्चित नभइसकेको बताए । त्यसैमाथि आधा दर्जन आकांक्षी रहेकाले हामी बिच नै कुरा नमिलेका कारण सरकार विस्तारमा ढिलाइ भइरहेको बताए। यता नागरिक उन्मुक्तिमा पनि समस्या उत्पन्न भएको छ ।
दुई मन्त्रालय र एक राज्यमन्त्री पाउने भन्दै मुख्यमन्त्रीमा शाहलाई विश्वासको मत दिएका नागरिक उन्मुक्तिका सांसदहरूले १ मन्त्रालयमै चित्त बुझाउने अवस्था सृजना हुँदै गएपछि समस्या भएको हो ।अहिले नागरिक उन्मुक्तिले सामाजिक विकास मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा दाबी गरेका छन्। यी दुबै मन्त्रालय नागरिक उन्मुक्तिलाई सुम्पिदा कांग्रेस मुख्यमन्त्री र एक मन्त्रीमा मात्रै सीमित हुनुपर्ने भएको हुँदा नागरिक उन्मुक्तिलाई एउटा मात्रै मन्त्रालयमा मनाउने प्रयास जारी रहेको मुख्यमन्त्रीनिकट स्रोतको दाबी छ ।नागरिक उन्मुक्तिले अन्तिममा २ मन्त्रालय सम्ममा मानिरहेका छ तर, सबैभन्दा ठूलो दल रहेको कांग्रेसले थप एक मन्त्रालय पाउने गरी नागरिक उन्मुक्तिलाई एउटा मात्रै मन्त्रालयमा मनाउने प्रयास भइरहेको छ। तर मुख्यमन्त्री निकट स्रोतले उहाँहरूले नमानेको बताइएको छ।
नागरिक उन्मुक्तिले पनि दुई मन्त्रालयको अडानबाट पछि नहट्ने दाबी गरेको छ । सुरुमा मुख्यमन्त्री नै दिन तयार भएको थियो,कांग्रेस माओवादी पनि साथमा आएपछि बहुमत भएको भन्दै हामीलाई एक मन्त्रालयमा मनाउन छलफल भइरहेको नागरिक उन्मुक्तिका एक नेताले बताए । त्यो कुरा उन्मुक्तिले स्वीकार गर्ने पक्षमा नरहेको ति नेताले बताएका छन् ।कांग्रेस सांसद मेघराज खड्काले केन्द्रमा भागबण्डा टुंगो नलाग्दा सरकार विस्तारमा ढिलाइ भएको बताए। केन्द्रको भागबण्डा टुंगोको प्रक्रियामा रहेको र त्यो बीचमा चुनावले गर्दा पनि केही ढिलाइ भएको बताए । उनले लुम्बिनी र गण्डकीको भागबण्डा पनि कुरा नमिलेको र केहीदिनमै भागबण्डा टुंगो लागेपछि सुदुरपश्चिम सरकारले पनी पूर्णता पाउने बताए । ५३ जना प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिममा गठबन्धनअन्तर्गत कांग्रेसका १९, माओवादी केन्द्रका ११, नागरिक उन्मुक्तिका ७ र नेकपा एकीकृत समाजवादीका ४ सांसद छन् । यहाँ एमालेका १० र राप्रपा तथा स्वतन्त्रका १/१ सांसद रहेका छन् ।


