कास्की। नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे गण्डकी प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त भएका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पाण्डेलाई बिहीबार संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
यस प्रदेशमा नयाँ सरकार गठनका लागि आजै दाबी पेस गरिएको थियो। पाण्डे माओवादी केन्द्र र एकीकृत समाजवादीको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन्। गण्डकीमा सत्ता साझेदार दलबीच आलोपालो सरकारको नेतृत्व लिने सहमति अनुसार पहिलो चरणमा पाण्डेले नेतृत्व गर्नेछन्। ६० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ३१ सांसदको आवश्यक पर्छ।
संसदमा सवैभन्दा ठूलो दलको हैसियतले कांग्रेसको २७ सीट छ। सभामुखसहित माओवादीको ८ सीट रहेको छ भने, स्वतन्त्र सांसद मनाङे पनि गठबन्धनमा छन्। प्रदेश प्रमुखलाई मुख्यमन्त्री दाबी गर्दै ३५ जनाको हस्ताक्षर बुझाइएको थियो। यसअघि पुस २५ मा एमालेका खगराज अधिकारी मुख्यमन्त्री नियुक्त भएका थिए। माओवादी र राप्रपाको समर्थनमा संविधानको सोही धारा टेकेरे उनी मुख्यमन्त्री भएका थिए।
राष्ट्रपति निर्वाचनलाई लिएर बनेको नयाँ सत्ता समिकरण अनुसार सरकारबाट माओवादी बाहिरीएपछि अधिकारी नेतृत्व सरकार अल्पमतमा परेको थियो। अधिकारीले वैशाख ९ मा विश्वासको मत प्राप्त नगरेपछि गण्डकीमा नयाँ सरकार गठनको प्रकृया अगाडि बढेको हो। सोही अनुरुप प्रदेश प्रमुख गुरुङले तीन दिनको समय दिएर नयाँ सरकार गठनका लागि बहुमतले दावी पेश गर्न मंगलबार आह्रवान गरेका थिए । नवनियुक्त मुख्यमन्त्रीलाई शुक्रबार शपथ खुवाउने तयारी रहेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।


