काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्युनिष्ट आन्दोलनलाई सही विचारका आधारमा डोर्याउने प्रयास गरेको तर सफल नभएको बताएका छन्। कम्युनिष्टहरुले ल्याएको दुई तिहाई बहुमत बचाउन नसकेको बताउँदै अध्यक्ष प्रचण्डले त्यसलाई किन बचाउन सकिएन भन्ने सवालमा त्यसको जिम्मेवारी सबैले लिनुपर्ने बताए। अहिले कम्युनिष्टहरुको समूह धेरै भएपनि जनतामा लोकप्रिय कम्युनिष्ट पार्टी नै रहेको उनले बताए।
कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा नरबहादुर स्मृति प्रतिष्ठानले शनिवार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले अझै कम्युनिष्ट पार्टीबीच एकताको सम्भावना रहेको बताए । उनले कम्युनिष्ट पार्टीलाई एउटा मुख्य शक्ति बनाउने प्रयासमा आफूहरु लागि परेको र त्यसमा सकारात्मक प्रगति भइरहेको बताए । यो अवसरमा सबैले एकता र सहकार्यका लागि नयाँ संकल्प लिनुपर्ने बताउँदै उनले सिद्धान्त र विचारमा प्रतिवद्ध रहेर कम्युनिष्टहरु एक ठाउँमा आउनुपर्ने आवश्यकता रहेको बताए ।
अहिले गएको चुनावमा पनि सिद्धान्त र विचारलाई प्राथमिकतामा नराखेर भावनामा बगेर मान्छे चयन गर्ने काम गरेको बताउँदै उनले विचार र सिद्धान्तका आधारमा समाजलाई अगाडि बढाइएन भने समाज खतरामा जान सक्ने धारणा राखे । यो कुरा पार्टीमा मात्र होइन, अहिले मिडियामा पनि त्यस्तै देखिएको बताउँदै उनले मुलधारको मिडिया समाप्त हुने अवस्था गएको देखिएको बताए । प्रधानमन्त्री प्रचण्डले सोशल मिडिया र युट्युवहरु मुलधारमा आउन लागेको तर त्यसले राम्रो संकेत नदिएको बताए ।
कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार बन्नु अवसर भएको बताउँदै उनले त्यसमा चुनौती पनि रहेको प्रस्ट पारे । कम्युनिष्ट पार्टीले बहुमत ल्याउन नसक्ने भएकाले गठबन्धनको संस्कृतिलाई जोगाउँदै यसलाई पाँच वर्ष नै टिकाउने बताउँदै उनले यसका लागि सबै तयार रहनुपर्ने धारणा राखे । अर्को प्रसंगमा उनले स्व।नरबहादुर कर्मचार्यसँगको सहकार्य स्मरण गर्दै उनीसँग एउटै परिवारजस्तो भएर ६ वर्षसम्म बसेको बताए । कर्मचार्य कम्युनिष्ट पार्टीको अभिभावक भएको समेत उनले बताए । कर्मचार्यको पहिचान भनेको वर्गीय पहिचान रहेको बताउँदै उनले नरबहादुर स्मृति प्रतिष्ठानलाई अध्ययन केन्द्रको रुपमा विकास गर्न आग्रह गरे ।


