कैलाली। सार्वजनिक सवारी साधनमा विद्यार्थीहरुलाई छुट नदिइएको भन्दै नेपाल विद्यार्थी संघ कैलालीले आपत्ति जनाएको छ।
सरकारले विद्यार्थीहरुका लागि सार्वजनिक यातायातमा कूल भाँडादरको ४५ प्रतिशत छुट दिने व्यवस्था व्यवस्था भएपनि उक्त व्यवस्था कार्यान्वयन नभएको भन्दै नेविसंघ कैलालीले आपत्ति जनाएको हो। नेविसंघ कैलालीका जिल्ला सभापति मनिश कुँवरसहितको टोलीले आज प्रमुख जिल्ला अधिकारीलाई भेटेर उक्त विषय ध्यानाकार्षण गराएको छ।
सार्वजनिक यातायातमा विद्यार्थीले पाउनु पर्ने सहुलियत कार्यान्वयनका लागि तत्काल पहल गर्न नेविसंघले आग्रह गरेको छ । विद्यार्थीले छुट पाउने व्यवस्था कार्यान्वयन नभए चरणवद्ध आन्दोलनमा उत्रने पनि नेविसंघले बताएको छ।
‘नेपाल सरकारले विद्यार्थीहरुका लागी सार्वजनिक यातायातमा कुल भाँडादरको ४५ प्रतिशत छुट दिने व्यवस्था गरेको छ । तर, धेरै समय बितिसक्दा पनि सो व्यवस्था कार्यान्वयन नभएकोले तँहाको कार्यालय मार्फत कार्यान्वयन गराईदिनहुनका लागि हार्दिक अपिल गर्दछौं । साथै सो व्यवस्था कार्यान्वयन नभए चरणबद्ध आन्दोलनमा उत्रन बाध्य हुने जानकारी गराउदै यो ज्ञापन पत्र पेश गरेका छौं,’– विज्ञप्तिमा भनिएको छ।


