धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको नेतृत्वमा गत माघमा गठन भएको मन्त्रिपरिषद्ले अझैसम्म पूर्णता पाउन सकेको छैन । मन्त्रीमण्डल विस्तारमा भइरहेको ढिलाइले सरकारको नीतिगत काम प्रभावित हुनुका साथै अन्य काम कारबाहीमा प्रभावकारिता देखिन सकेको छैन ।
यता सुदूरपश्चिम सरकार विस्तारमा ढिलाई बारे नेकपा माओवादी केन्द्रले चाँसो देखाएको छ। माओवादी केन्द्रले सरकार विस्तारका विषयमा मुख्यमन्त्री कमलबहादुर शाहसँग छलफल गर्न वार्ता टोली गठन गरेको छ ।सोमबार बसेको माओवादी संसदीय दलको बैठकले दलका नेता खगराज भट्टको संयोजकत्वमा वार्ता टोली गठन गरेको हो ।
प्रदेश सभा सदस्य ओमबिक्रम भाट ‘सरल’ले भट्टको संयोजकत्वमा पाँच सदस्यीय वार्ता टोली गठन गरिएको जानकारी दिए । उनका अनुसार वार्ता टोलीमा प्रदेश सभा सदस्य मानबहादुर धामी, गीता माल, रमेश धामी र शिवसिंह ओली सदस्य रहेका छन् । यस्तै अगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रमबारे सरकारलाई सुझाव दिन संसदीय दलका नेता भट्टकै संयोजकत्वमा अर्को टोली पनि गठन गरिएको छ । उक्त टोलीमा प्रदेश सभा सदस्य ओमबिक्रम भाट, जानकी देवी कुँवर, लक्ष्मी बिक, अक्कल रावल र झपट साउद सदस्य रहेका छन्।
कांग्रेस नेतृत्वको सत्तारुढ गठबन्धनमा दोस्रो शक्तिका रुपमा रहेको माओवादीले प्रदेश सरकारमा सम्मानजनक सहभागिता हुनुपर्ने बताउँदै आएको छ ।भौतिक पूर्वाधार विकास मन्त्रालय वा आर्थिक मामिलामध्ये एक मन्त्रालय अनिवार्य पाउनुपर्ने माओवादीको अडान छ भने थप दुई मन्त्रालयमा पनि दिनुपर्ने पाउनुपर्ने माग गरिरहेको छ ।२६ माघमा एमालेका राजेन्द्र रावल नेतृत्वको सरकार ढलेपछि मुख्यमन्त्रीमा नियुुक्त भएका कांग्रेसका कमलबहादुर शाहले २१ फागुनमा विश्वासको मत लिएका थिए ।
उनलाई कांग्रेससहित माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीले विश्वासको मत दिएको थियो । तर मुख्यमन्त्रीमा नियुक्त भएको दुई महिना बित्दासमेत शाहले सरकार विस्तार गर्न सकेका छैनन्। प्रदेशसभाको ठूलो दल नेपाली कांग्रेसका १९, नेकपा माओवादी केन्द्रका सभामुखसहित ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका सात, नेकपा एकीकृत समाजवादीका चार, राप्रपाका एक र स्वतन्त्र एक सदस्य छन् ।


