काठमाडौँ। व्यवसायी दुर्गा प्रसार्ईसँग पैसा मागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. ढाकाकुमार श्रेष्ठ निलम्बनमा परेका छन् । पार्टी हितविपरीत काम गरेको भन्दै सांसद श्रेष्ठले प्रसाईसँग रकम माग गरेको अडियो बाहिरिएपछि पार्टीले उनलाई कारबाही गर्दै निलम्बन गरेको हो ।
सांसद श्रेष्ठलाई निलम्बन गरिएको र उनीमाथि थप छानबिन हुने रास्वपाका सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए ।सार्वजनिक भएको अडियो अनुसार सांसद श्रेष्ठले आफू स्वास्थ्यमन्त्री बन्न लागेको भन्दै दुर्गा प्रसाईसँग पार्टीलाई रकम बुझाउनका लागि भन्दै २ करोड माग गरेका थिए।सार्वजनिक भएको उक्त अडिओमा मन्त्री बन्ने भए साढे २ करोड बुझाउन पार्टी सभापति रवि लामिछानेले भनेको भन्दै सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग भनिरहेको सुनिएको छ ।
प्रचण्ड नेतृत्वको स्वास्थ्य तथा स्वास्थ्य तथा जनसंख्यामन्त्री आफ्नो पार्टीको भाग परेको श्रेष्ठले प्रसाईंलाई सुनाएका छन् । उनले प्रसाईंसँग दुई करोड रुपैयाँ व्यवस्थापन गरिदिन आग्रह गरेका छन् । उनले तत्काल एक करोड दिए पनि मन्त्री बनाउन सभापति लामिछाने तयार रहेको प्रसाईंलाई सुनाएका छन्। प्रसाईंले दुई करोड रुपैयाँ व्यवस्थापन गरिदिने तर पछि आफ्नो काम गरिदिनुपर्ने शर्त राखेका छन् ।
उनी रास्वपाको समानुपातिक कोटाबाट सांसद बनेका हुन् । अहिले उनलाई पार्टीले मात्रै निलम्बन गरेको छ, थप छानबिनपछि दोषी ठहर भएमा उनको सांसद पद पनि जान सक्छ । सांसद श्रेष्ठ यसअघि पनि आफै अध्यक्ष रहेको पोखराको साथी किसान कृषि सहकारी संस्थामा रहेका बचतकर्ता लाखौँ रकम अपचलन गरेको भन्दै विवादमा परेका थिए । यस विवादमा उनीमाथि मुद्दा समेत चलेको बताइएको छ ।


