काठमाडौं। सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम सार्वजनिक भएको छ । सिंहदरबारमा एक कार्यक्रम गरी सरकारका प्रवक्ता रेखा शर्माले सरकारको सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरेकी हुन्।
विस्तृत शान्ति सम्झौतालगायत विगतमा नेपाल सरकार र विभिन्न राजनीतिक दल र पक्षहरूबिच भएका सहमती र सम्झौताहरूलाई हृदयङ्गम गरी देशलाई दिगो शान्ति, सुशासन, विकास र समृद्धिका लागि कटिवद्ध रहँदै यो कार्यक्रम ल्याएको उनले बताएकी छिन्। सङ्घीय लोकतान्त्रिक गणतन्त्र, संविधान र संसदको रक्षार्थ भएको सङ्घर्षको भावनाअनुरूप प्रतिनिधि सभाको पूर्ण कार्यकालको सुनिश्चितता गर्दै आपसी संवाद, सहमति र सहकार्यमार्फत गठबन्धनको संस्कृति विकास गरी देशमा राजनीतिक स्थायित्व प्रदान गर्न वर्तमान संयुक्त सरकार गठनका लागि पहल गर्ने तथा समर्थन गर्ने दलहरू यो साझा न्यूनतम कार्यक्रममा सहमत रहेका उनले बताइन्।
उनले गठबन्धन सरकारले देशको अर्थतन्त्र रुपान्तरण र सुदृढ गर्न नीतिगत र कार्यगत सुधार गर्ने प्रण गरेको बताइन् । त्यस्तै, समाजमा रहेका सबै प्रकारका भेदभावको अन्त्य गर्दै समता र सामाजिक न्यायमा आधारित सामाजिक व्यवस्था निर्माण गर्ने कार्य समेत संयुक्त गठबन्धन सरकारको प्राथमिकतामा रहेको बताइन् । हाल गठबन्धनमा रहेका १० दलमध्ये कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नेपाल समाजवादी पार्टी सरकारमा सामेल छन् ।
भने राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र आम नेपाली पार्टीले सरकारमा सामेल नभए पनि विश्वासको मत दिएर समर्थन कायम राखेका छन् । राष्ट्रपति निर्वाचनअधि एमालेसहित सात दलको गठबन्धनबाट प्रधानमन्त्री बनेका पुष्पकमल दाहालले २५ पुसमा पनि न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेका थिए । तर, त्यसबेला उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजकको रुपमा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफैं सरकारको नेतृत्वमा रहे जसरी प्रस्तुत भएको भन्दै आलोचना भएको थियो ।यहाँ क्लीक गरेर हेर्नुहोस् पूर्णपाठ Final-CMP of Coalition Govt-2079


