काठमाडौं। उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्काले आफूले कहिल्यै पनि उपप्रधान बन्दिनँ नभनेको बताएका छन् । शनिबार सन्त नेता किसुनजीको आश्रम बाडेगाउँमा पत्रकारसँग कुरा गर्दै मन्त्री खड्काले यस्तो बताएका हुन् ।उनले धेरै पटक मन्त्री भइसकेकाले त्यसभन्दा माथिल्लो जिम्मेवारी पाए मात्र लिने भनेर भनेको बताए।
यसअघि उनले २०७२ सालमा अर्घाखाँचीमा आफू फेरि मन्त्री नबन्ने ‘प्रण’ गरेका थिए। उनलाई अहिले त्यसबेलाको प्रण त्यागेर बोली फेरेको आरोप लागेको छ। उनले भने, ‘ म धेरैचोटि मुलुकको मन्त्री भइसकेँ। २०५५ सालदेखि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री, युवा तथा खेलकुद मन्त्री, जनसंख्या तथा वातावरणमन्त्री, वाणिज्यमन्त्री, सञ्चारमन्त्री दुई दुई चोटि गृहमन्त्री। यत्रो धेरै मन्त्रालयको मन्त्री भइसकेँ ।
अब फेरि मैले मन्त्रीका रूपमा फर्कने, फेरि त्यसमा लालच देखाउनु उपयुक्त हुँदैन भन्ने लाग्यो। त्यसैले मैले घोषणा गरेँ। आजदेखि मेरो मन्त्री बन्ने अभियान बन्द भयो । आजदेखि मन्त्री बनाउने अभियानमा लाग्छु भनेर घोषणा गरेँ । त्यसपछि यो ७ वर्षको अन्तरालमा यो घटनाक्रम भए । त्यसपछि मलाई फेरि त्यही कुरा सोधियो । फेरि आफनो कुरामा त्यही भने ।’उनले आफूले उपप्रधानमन्त्रीबिनाको प्लेन मन्त्री भएको भए आफू मन्त्री नबन्ने बताए।
उनले भने,‘अहिले सामाजिक सञ्जालमा आइरोखेका छ। मन्त्री खान्न भन्नुभयो फेरि मन्त्री बन्नुभयो भनेर सामाजिक सञ्जालमा सोधेको छ। मैले उपप्रधानमन्त्री बन्दिन कहिले भने मैले मन्त्री बन्दिन भनेको हो । अहिले पनि म त्यही कुरामा अडिग छु । अहिले पनि उपप्रधानबिनाको प्लेन मन्त्री भएको भए म हुन्थिनँ। ७ वर्षको अन्तरालमा मलाई पार्टीका नेताहरूले मन्त्री बन्न आग्रह गर्दा मैले त्यही कुरा भनेको थिएँ।
अहिले म मन्त्री मात्र बनिरहेको छैन अहिले म मुलुकको उपप्रधानमन्त्री पनि छु भन्ने कुरा मेरा शुभचिन्तकहरू, सामाजिक सञ्जालमा मेराबारेमा टिप्पणी गर्नेहरू सबै मित्रहरूलाई प्रस्ट पार्न चाहन्छुस म मन्त्री मात्रै बन्थिनँ, नबनेको हुँ । तर अहिले उपप्रधान र रक्षामन्त्रीको जिम्मेवारी पार्टीको सभापतिले विश्वास गरेर दिनुभयो । त्यसैले म मेरो वचनबाट कहीँ दायाँबायाँ गर्या छैन। उपप्रधानमन्त्रीको रुपमा जिम्मेवारी सम्हाल्ने अवस्था आयो। र त्यही अनुसार अघि बढ्दैछु ।’


