काठमाडौँ। नेकपा एमालेले पार्टीका पूर्व उपाध्यक्ष डा. भीम रावलसँग वार्ता गर्न समिति गठन गरेको छ । एमालेको शनिबार ललितपुरको च्यासलमा बसेको सचिवालय बैठकले पार्टीको मिसन ग्रासरुट अभियानको सुदूरपश्चिम कमाण्डर उपाध्यक्ष विष्णु पौडेल नेतृत्वमा वार्ता टोली गठन गरेको उपमहासचिव पृथ्वी सुब्बा गुरुङले जानकारी दिएका छन् ।
उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा प्रदेश इञ्चार्ज लेखराज भट्ट र कर्ण थापा सदस्य रहेको समिति गठन गरेको पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख गुरुङले जानकारी दिए । वार्तापछि रावललाई पार्टीमा जिम्मेवारी दिने उनले बताए ।उनीसँगै सुदूरपश्चिमका इन्चार्ज लेखराज भट्ट र सहइन्चार्ज कर्णराज थापा पनि यस टोलीमा छन्।‘पार्टीका पूर्व उपाध्यक्ष भीम रावलले पार्टीको विधि विधान नमानी पार्टीमै रहेकोले उहाँसँग संवाद गर्न समिति बनाइएको हो,’ गुरुङले भने ।
यता नेकपा एमालेका पूर्व उपाध्यक्ष डा. भीम रावलले पार्टीले गठन गरेको वार्ता टोलीसँग संवाद गर्न आफू तयार रहेको बताएका छन् ।सचिवालयले गठन गरेको वार्ता टोलीबारे आफूले थाहा पाएको भन्दै रावलले आफू वार्ता गर्न तयार रहेको बताए ।जोसँग टसल परेको हो उनै नेताहरू वार्ता टोलीमा रहेकोमा असहज महसुस गरेको सन्दर्भमा भने आफूलाई वार्ता गर्न कुनै समस्या नरहेको बताए ।उनले आफू पार्टीमा नीति सिद्धान्तमा छलफल गर्न र उचित जिम्मेवारीकै पक्षमा रहेको बताएका छन् ।

