कैलाली। कैलालीको टिकापुरमा निर्माण भइरहेको सडक १५ दिन नपुग्दै कालोपत्रे उप्किएको छ। कैलालीको टीकापुर नगरपालिका–१ मा निर्माण भइरहेको नमुना ब्लक सडक कालोपत्रे गरेको १५ दिन नपुग्दै उप्किएको स्थानियले बताएका छन्।
टीकापुरको खड्गचोकदेखि टीकापुर अस्पताल, खानेपानी ट्यांकी, इलाका प्रहरी कार्यालय हुँदै मेनरोड रहेको ब्लक नं. एका भित्री सडकहरू कालोपत्रे भइरहेका छन्। पटक–पटक निर्माण अवधि थपेर निर्माण कम्पनी महालक्ष्मी/एमके जेभीले खानेपानी ट्यांकी क्षेत्रको सडक कालोपत्रे गरेको १५ दिनसमेत नपुग्दै उप्किएको स्थानीय मीनबहादुर विष्टले बताए। कालोपत्रे भएको हप्ता दिन नपुग्दै कालोपत्रे उप्किन सुरु भएको बताउँदै ठाउँठाउँमा उप्किएको बताए।
कालोपत्रे निर्माण भएको एक हप्ता नपुग्दै उप्किएपछि यस्को कारणबारे सम्बन्धित निकायले ध्यान नदिएको उनको आरोप छ ।सडकअगाडि निर्माण हुँदै पछाडि भत्किदै गरेको अर्को स्थानिय तथा रिक्साचालक हरिबहादुर चौधरीले बताए। उनले रोड बन्ने भएपछि रिक्सा चलाउन सजिलो हुने भन्दै निकै खुसी भएपनी भत्किन थालेपछि चिन्ता लागेको बताए । कालोपत्रे उप्किनुमा कमसल सामाग्रीको प्रयोग, मापदण्ड अनुसार सामाग्री प्रयोगमा कमी र गुणस्तरहिनकामले ठाउँठाउँमा उप्किरहेको बताए । उनले अहिले अवस्थामा यसरी बिग्रिएकोमा बर्खा मौसममा के होला भन्ने चिन्ता लागेको बताए । निर्माण कम्पनीले काम सक्नमा मात्रै ध्यान दिएको भनाई छ ।
यता निर्माण कम्पनीले सडक गुणस्तरमा ध्यान नदिँदा कालोपत्रे सडक केही दिनमै उप्किने अवस्था आएको प्राविधिकहरू बताएका छन् । स्थानीय इन्जिनियर बालकृष्ण घिमिरेले कालोपत्रका लागि हालिएको डस्ट सडकसँगै निर्माण गरेका नालीहरूमै फालिएकोले केही दिनमै नालीमा पानी भरिने समस्या आउने बताए । जसका कारण नालीको पानी पसलहरूमा पस्ने खतरा बढेको उनको भनाई छ ।नमुना ब्लक बनाउने भनिएको ब्लक ए टीकापुरको मुख्य बजार क्षेत्रमा पर्दछ। नगरपालिका केन्द्रको वरिपरि रहेको सडक गुणस्तर नहुँदा स्थानीयहरू आक्रोशित बनेका छन्।
इन्जिनियर रवीन्द्र विष्टले कालोपत्रेमा अलकत्राको कमीका साथै कम्पेक्सन राम्रो भएको नदेखीएको र सडकको बीच भागमै हातले गिटी निकाल्न सकिने गरी बनाएको देखिएको बताए। सडकको बेसमा समेत माटो देखिएकोले सो कारण सडकको निर्माण गुणस्तरीय हुन नसकेको उनले बताए । बेसमै समस्या हुनाले केही दिनमै भत्किन सुरु हुने गरेको उनको सुझाब रहेको छ ।सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाइ कार्यालयको करिब ८ करोड लागतमा ब्लक एको ३ किलोमिटर सडक कालोपत्रे र नाली निर्माण कार्य भइरहेको छ।
ब्लक एको तीनतिरको मुख्य सडक र केही भित्री सडकसमेत कालोपत्रे भइरहेका छन्। निर्माण कम्पनीका प्रतिनिधि जयराम थापाले सडक कालोपत्रे गर्दा तत्काल ठूला सवारीसाधन चलेकाले सडकका केही भागको कालोपत्रे सेट हुन नसकेको बताए । उनले सडक निर्माणका क्रममा बाटो पूर्ण रूपमा बन्द गर्न नसकिएको र सेट नहुँदै ठूला गाडी हिँडेकाले समस्या आएको बताए । निर्माण नसकिएको सो सडकलाई पुनः मर्मत गर्ने र गुणस्तरमा निर्माण ध्यान दिने उनले स्वीकार गरे ।टीकापुर नगरपालिकाका नगर उपप्रमुख खडकबहादुर शाहले कालोपत्रे भएको सडक केही दिनमा उप्किएको बताउँदै सम्बन्धित निकायको ध्यानाकर्षण गराएको बताए।
उनले कालोपत्रेमा समस्या देखिएकोले सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाइ कार्यालय धनगढीलाई गुणस्तरमा ख्याल गर्न ध्यानाकर्षण गराएको बताए । यस्तो अवस्थामा सडक राम्रो नबन्ने उनले बताए ।संघीय आयोजना कार्यान्वयन इकाइ कार्यालय धनगढीका साइड इन्चार्ज इन्जिनियर सन्तोष जेठाराले नमुना ब्लकको खानेपानी ट्यांकी सडकमा केही प्राविधिक समस्या देखिएको बताए।उनले केही समस्या भएरै उप्केको हुनुपर्ने बताए । कालोपत्रको तल्लो लेयर राम्रै रहेको र प्रिमिक्सको माथिल्लो लेयरमा बिटुविनले काम नगरेको देखिएको बताए । सामान्यतया बिटुविन बढी जल्दासमेत यस्तो समस्या आउने गरेको उनको भनाई छ । कालोपत्रे भएको सडक उप्किएपछि बिटुविनको प्राविधिक परीक्षण गर्न पठाएको र यसको अध्ययन गरिने इन्जिनियर जेठाराले बताए ।


