काठमाडौँ। आगामी वैशाख १० गते हुने तीनवटै क्षेत्रको उपनिर्वाचनमा नेकपा एमालेले गठबन्धन नगर्ने बताएको छ। वैशाख ३० गते चितवन २, बारा २ र तनहुँ १ मा प्रतिनिधि सभा सदस्य पदमा हुँने उपनिर्वाचनमा नेकपा एमालेले गठबन्धन नगर्ने भएको जनाएको छ।
चितवन–२ मा रास्वपा सभापति रवि लामिछाने नागरिकता प्रकरणमा मुछिएपछि पद गुम्दा खाली भएको थियो भने तनहुँ १ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति र बारा २ का रामसहाय यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि खाली हुन पुगेको हो। उपनिर्वाचन हुने तीनवटै निर्वाचनमा एमालेले आफ्नै उम्मेदवार उठाउने र गठबन्धन नगर्ने एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।
‘हामी उपनिर्वाचन हुने तीनवटै क्षेत्रमा एमालेकै उम्मेदवार उठाउँछौ, गठबन्धन गर्दैनौ’, गुरुङले भने, ‘हामीले कसैसँग गठबन्धन गर्नुपर्ने देखेका छैनौँ ।’उनले तीनवटै उपनिर्वाचनका लागि उम्मेदवार छान्न पार्टी कमिटीका तल्लो तहलाई निर्देशन दिइसकेको जनाए । चैत २० गते उम्मेदवारी दर्ताको समय तोकिएकाले १९ गतेभित्र टुङ्गो लगाउने गुरुङको भनाइ छ। ‘२० गते उम्मेदवारी मनोनयनको समय छ, त्यसअघि १९ गतेसम्म हामी उम्मेदवार तय गर्छौ’, नेता गुरुङको भनाइ छ । ‘विधान त हामी उम्मेदवार छान्दा जिल्ला हुँदै प्रदेश कमिटीमार्फत प्रस्ताव माग्छौ, त्यसका लागि तत्तत् कमिटीलाई उम्मेदवार सिफारिस गरेर पठाउन भनेका छौ’ गुरुङले भने, ‘तलबाट आएको सिफारिसमध्येबाट केन्द्रले जसलाई उपयुक्त ठान्छ उसैलाई उम्मेदवार बनाउँछ ।’