काठमाण्डौँ। डिल्ली बजार जेलमा रहेका रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी पनि संघीय सरकारमा जान तयार भएको छ। उक्त पार्टीले अध्यक्ष रञ्जिता श्रेष्ठलाई सरकारमा पठाउने तयारी गरेको छ। सुदूरपश्चिम सरकारलाई समर्थन गरेर कांग्रेस–माओवादीसहितको सत्ता गठबन्धनमा जोडिएको नागरिक उन्मुक्तिबाट अध्यक्ष रञ्जिता नै सरकारमा जान लागेकी हुन्।
यद्यपि उनको मन्त्रालय टुंगो लागिसकेको छैन। नागरिक उन्मुक्तिले संस्कृति पर्यटन अथवा वन तथा वातावरण मन्त्रालय लिन चासो देखाएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार विस्तार गर्न लागेको मन्त्रिमण्डलमा श्रेष्ठ पनि मन्त्री बन्ने उक्त पार्टीका महासचिव रतन थापाले जानकारी दिए।
उनका अनुसार नागरिक उन्मुक्तिलाई एउटा मन्त्रालय दिन प्रधानमन्त्री तयार छन्। तर, थप एउटा राज्य समेत पाउनुपर्ने उसको अडान छ। नागरिक उन्मुक्तिकी अध्यक्ष श्रेष्ठले मंगलबार बस्ने गठबन्धन बैठकबाट सरकारमा सहभागिताको निर्णय हुने बताइन्। बालुवाटार स्रोतका अनुसार श्रेष्ठ मन्त्री बन्न तयार छिन्।