धनगढी : जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी निरिक्षक बिरेन्द्र जोहारीले ट्राफिक नियमको पालना भए आफै दुर्घटनामा कमी आउने बताएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीको कार्यालयमा सञ्चारकर्मीहरुसंगको परिचयात्मक कार्यक्रममा बोल्दै उनले पुर्ण रुपमा ट्राफिक नियम पालना गर्ने १० प्रतिशत मात्रै देखिएको बताएका हुन् ।
म यस कार्यालयमा आएको २ महिना भएको छ उनले भने “यतिबेला ३ सय बढीलाई ट्राफिक नियम उल्लघंन गरेका कारण नियम पालना बारे क्लास दिइसकेको छु, जहाँ पायो त्यतै बाट बाटो काट्ने, आफ्नो लेन प्रयोग नगर्ने, मापसे सेवन गरी सवारी चलाउने, बिना लाइसेन्स ब्लुबुक सवारी चलाउने लगायतका ब्यक्तीहरुलाई मैले क्लास दिएको छु, क्लास दिएकाहरुमध्ये अधिकाशंलाई ट्राफिक नियमबारे थाहानै नभएको पाइयो ।” नियमनै थाहा नभएर ओभरटेक माग्दा दायाँ लाइट बाल्ने चालकहरुको परम्परा छ तर बाल्नुपर्ने बायाँ हो उनले भने “तराइमा बढी दुर्घटना ओभरटेककै बेला भएको देखिन्छ यसमा ख्याल गर्नुपर्छ ओभरटेकका बेला पछाडीको गाडीले हर्न बजाउने र अगाडीको गाडीले जाउ भन्ने संकेत दिन बाँया लाइट बाल्नुपर्छ र ओभरटेक गर्नेले दायाँ लाइट बाल्ने अनी आफ्नो लेनमा जान बाँया लाइट बाल्नुपर्छ, यि नियम बिषेशगरी धनगढी अत्तरिया ६ लेनमा पालना नगरे दुर्घटना हुने जोखिम निकै बढी हुन्छ ।”
जोहारीले ट्राफिक नियम पालना गर्नु कुनै प्रहरीका लागी नभई आफ्नै लागी भएको बताए । हाम्रो काम जरिवाना गर्ने मात्रै होइन दुर्घटना न्युनिकरण गर्ने हो उनले भने “एदी ट्राफिक नियमको सबैले पालना गरिदिने हो भने सवारी दुर्घटना निकै घटाउन सकिन्छ, यसमा ट्राफिकले मात्रै गरेर सक्दैन सबैको सहयोग आवश्यक छ ।” सडक निर्माणाधीन अवस्थामा रहनु,मोहना अत्तरिया ६ लेन सडक खण्डमा पूर्वाधारको कमी, क्षमता भन्दा बढी अटो तथा ई–रिक्सा लगायतका समस्याले ट्राफिक व्यवस्थापनमा निकै चुनौती देखिएको उनले बताए । यी चुनौतीलाई समाधान गर्नको लागि विभिन्न प्रकारका सचेतनामूलक कार्यक्रम गर्ने,सचेतना कक्षा सञ्चालन,अन द स्पोट सचेतना,चालक यात्रुसँग एक मिनेट कार्यक्रम जस्ता कार्य योजना बनाई अघि बढेको समेत बताए । अहिले धनगढी अत्तरिया ६ लेन सडकमा बत्ती जडान भएपछि दुई महिना यता कुनै पनि सवारी दुर्घटनामा नपरेको प्रहरी निरीक्षक जोहारीले बताए । जिल्लामा आएको दुई महिनामा आफूले यहाँको ट्राफिक व्यवस्थापनमा निकै चुनौती पाइएको बताए ।
दुर्घटनामा कमी
जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले सार्वजनिक गरेको तथ्याकं अनुसार जिल्लामा सवारी दुर्घटनामा कमी आइरहेको देखाएको छ । पछिल्लो तीन वर्षको तथ्याङ्क हेर्दा पछिल्लो समय यहाँ दुर्घटनामा कमी आइरहेको पाइएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख जोहारीका अनुसार जिल्लामा २०७७÷७८ मा ३२७ सवारी दुर्घटनामा परेकोमा २०७८÷७९ मा २६६ र चालु आर्थिक वर्ष २०७९÷८० को अहिलेसम्म ९५ सवारी दुर्घटना भएका छन् । २०७७÷७८ मा ३२७ सवारी दुर्घटनामा ६९ जनाको ज्यान जाँदा २०७८÷७९ मा २६६ सवारी दुर्घटना हुँदा ७६ जनाको ज्यान गएको छ । यस्तै चालु आर्थिक वर्ष २०७९÷८० को अहिलेसम्म ९५ सवारी दुर्घटना हुँदा ४३ जनाको ज्यान गएको छ ।
पछिल्लो तीन वर्ष यता राजश्वमा समेत कमी आएको छ । २०७७÷७८ मा ७९ हजार ८९ सवारी कारबाहीमा पर्दा ४ करोड ५७ लाख ६७ हजार राजश्व सङ्कलन भएकोमा २०७८÷७९ मा ४२ हजार सवारी कारबाहीमा २ करोड ३३ लाख ७८ हजार पाँच सय र चालु आर्थिक वर्ष २०७९ ८० को हालसम्म २८ हजार ४ सय ७७ सवारी कारबाहीमा परेकोमा १ करोड ६१ लाख २६ हजार राजश्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले जनाएको छ ।


