कैलाली। राष्ट्रिय जनगणना २०७८ अनुसार सुदूरपश्चिम प्रदेशबारे केही रोचक तथ्य उजागर भएका छन् । केन्द्रीय तथ्यांक विभागले शुक्रबार सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को तथ्यांकअनुसार सुदूरपश्चिममा केही रोचक तथ्य उजागर भएको पाइएको छ । शुक्रबार सार्वजनिक बाह्रौं चरणको जनगणनाको नतिजामा सुदूरपश्चिम प्रदेशबारे केही रोचक तथ्य यस्ता रहेका छन् ।
सुदूरपश्चिमको जनसंख्या२६ लाख ९४ हजार ७ सय ८३ रहेको छ । यो प्रदेश जनसंख्याका आधारमा देशको पाँचौं प्रदेश हो । जनसंख्यामा सुदूरपश्चिम गण्डकी र कर्णालीभन्दा अगाडि छ । नेपालको कूल जनसंख्याको २६.९ प्रतिशत यस प्रदेशमा बस्छ । प्रदेशको जनसंख्या वृद्धिदर ०.९२ प्रतिशत छ । कैलाली, कञ्चनपुर र बाजुरामा मात्रै जनसंख्या बढिरहेको छ। अन्य जिल्लामा जनसंख्या वृछिदर धनात्मक छैन ।साँफेबगर नगरपालिका र मंगलसेन नगरपालिकाको जनसंख्या घटिरहेको छ।
साँफेबगर जनसंख्या वृद्धिदर ऋणात्मक हुने देशको एक नम्बर नगरपालिका हो भने मंगलसेन तेस्रो। साँफेबगरको वृद्धिदर –२.५५ र मंगलसेनको –१.९४ प्रतिशत रहेको छ। यस प्रदेशको जनघनत्व प्रति वर्गकिलोमिटर १३८ जना रहेको छ ।प्रदेशको साक्षरता दर ७६.२ प्रतिशत छ । ८५.४ प्रतिशत पुरुष र ६८.२ प्रतिशत महिला साक्षर छन्। देशभर ६६ लाख ६६ हजार परिवार रहेकोमा सुदूरपश्चिममा ५ लाख ७७ हजार अर्थात् ८.७ प्रतिशत परिवारको बसोबास छ । यस प्रदेशमा परिवारको औसत आकार प्रति परिवार ४.६७ सदस्य रहेको छ। विगत १० वर्षमा परिवारको आकार घटेको छ । २०६८ सालको जनगणनामा परिवारको आकार ५.४३ सदस्य थियो।
यस प्रदेशका ३४.८९ परिवारको घरमूली महिला छन् । यस प्रदेशका १५.७ प्रतिशत मान्छे विदेशिएका छन्। यस प्रदेशमा अहिले पनि झण्डै १ प्रतिशत मान्छे खोलाको पानी पिउँछन्। अझै पनि सुदूरपश्चिमका ७०.३ प्रतिशत परिवारले दाउरामा खाना पकाउँछन् । २५.८ प्रतिशतले मात्रै खाना पकाउन ग्यासको प्रयोग गर्छन् । अहिले पनि यस प्रदेशका २.१ परिवारले उज्यालोका लागि विद्युत वा सोलारको प्रयोग गर्दैनन्। अहिले पनि सुदूरपश्चिम प्रदेशका ४.४ परिवारले सौचालय प्रयोग गर्दैनन् ।सुदूरपश्चिमका साढे ५ प्रतिशत वासिन्दासँग कम्प्य्टर, मोबाइल, इन्टरनेट जस्ता आधुनिक घरायसी साधन छैन। प्रदेशका ८६.४ प्रतिशत महिलाको नाममा घर वा जग्गा छैन। प्रदेशमा पुरुषभन्दा महिलाको संख्या धेरै छ। लैंगिक आधारमा जनसंख्या अनुपात ८९.५१ छ । यस प्रदेशमा अन्य लिंगी अर्थात आफूलाई महिला पनि होइन, पुरुष पनि होइन भन्नेको संख्या १९८ जना रहेको छ। देशभर २ हजार ९ सय २८ जना अन्य लिंगी छन्। सुदूरपश्चिमको कूल जनसंख्यामध्ये ६२.४ प्रतिशत नगरपालिकामा बस्छ भने ३७.६ प्रतिशत गाउँपालिकामा बसोबास गर्छन्।राष्ट्रिय जनगणना २०७८ को तथ्यांक हेर्नुहोस्- Jangarana-1