काठमाडौं। नेकपा एमालेका नेता भीम रावलले प्रहरीले मुख थुनेर बोल्न नदिएको बिषयमा आपत्ति जनाएका छन। गत मंगलवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उपस्थित एक कार्यक्रममा सहभागी युवाले बैंकको ब्याँज घटाउनु पर्ने भन्दै नाराबाजी गरेपछि प्रहरीले युवाहरुको मुख थुनिदिएको थियो, सोही घटनालाई लिएर रावलले आपत्ति जनाएका हुन ।
‘जनताको मुख थुन्ने तथा देश, विदेशलाई हेर्ने आफ्नै विवेकको आँखा थुन्ने तर दलाल पूँजिपति र वाह्य हस्तक्षेपकारीहरूलाई देश, सँस्कृति र राज्यमा दाईँ गर्न खुला छोड्ने ? यस्तो कुबुध्दि कसले सिकायो ?’ रावलले टविट गर्दै भनेका छन। मंगलवार प्रधानमन्त्री दाहाल ५८ औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन सार्वजनिक समारोहमा जाँदै गर्दा तीन जना युवाले प्रधानमन्त्री बिरुद्ध नाराबाजी गरेका हुन्।
ती युवालाई प्रहरीले तत्काल नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा ३० वर्षीय सोम शर्मा, बाग्लुङ, १८ वर्षीय विप्लव खड्का, बझाङ र २३ वर्षीय उद्धव बस्नेत, सोलुखुम्बुका लाई लिइएको थियो । मंगलबार गोरखा पुगेर फर्किएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड काठमाडौंको थापागाउँ पुगेका थिए। त्यहाँ उनी ५८ औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन दिवस २१ मार्च लाई सम्बोधन गर्न पुगेका थिए। सोमबार मात्रै संसदबाट विश्वासको मत लिएर सरकार विस्तारको तयारीमा रहेका प्रचण्ड थापागाउँस्थित पार्टी प्यालेसमा पस्नेबित्तिकै माहोल तनावपूर्ण बनेको थियो ।