कैलाली। सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत कैलालीका २ क्याम्पसमा स्ववियु निर्वाचन अन्तरगत मतदान सम्पन्न भएको छ । कैलालीको धनगढीमा रहेको कैलाली बहुमुखी क्याम्पसमा र अत्तरियामा रहेको दुर्गा लक्ष्मि बहुमुखी क्याम्पसमा आज बिहान ८ बजे देखी मतदान भएको थियो।
कैलाली बहुमुखी क्याम्पसमा नेकपा एमाले सम्बद्ध अनेरास्ववियुबाट यमराज जोशी, नेविसंघबाट हरिस खत्री, अखिल क्रान्तिकारीबाट पवन सुनार, राप्रपाबाट नवीन शाह, स्वतन्त्र विद्यार्थी समूहबाट विष्णुकुमार साउद चुनावी मैदानमा थिए । यहाँ मिलन बिक, खगेद्रप्रसाद अवस्थी, ध्रुवराज न्यौपाने र बमबहादुर विकले पनि उम्मेदवारी दिएका थिए। जोशी एमाले र नेकपा एकीकृत समाजवादीका साझा उम्मेदवार भएका छन्। कैलाली बहुमुखी क्याम्पसमा जम्मा मतदाता ४ हजार ३ सय ३३ रहेकोमा जम्मा मत २३६८ खसेको छ। मतगणना सर्बदलीय बैठक बसेपछि निर्णय गरिने बताइएको छ।
उता दुर्गा लक्ष्मि बहुमुखी क्याम्पस अत्तरियामा भने क्याम्पसमा स्ववियु सभापतिका लागि ५ जना चुनाबी मैदानमा होमिएका थिए। नेबिसंघ, अखिल क्रान्तिकारी र अखिल छैटौको संयुक्त प्यानलबाट भुवन महरा, स्वतन्त्रबाट लोकराज ओझा, अनेरास्वबियु बाट पुस्प सुवेदी, स्वतन्त्र विद्यार्थी समुहबाट सरोज ठगुन्ना र अनेरास्ववियु (क्रान्तिकारी) सँयुक्त प्यानलबाट पुष्करराज जोशीले उम्मेदवारी दिएका थिए। क्याम्पसमा बिहान ८ बजे देखि जारी निर्वाचनमा ७५ प्रतिशतले मतदान गरेको बताइएको छ। कुल १ हजार १ सय ७१ जना मतदाता रहेकामा ८७४ जनाले मतदान गरेका छन्। मतदान अधिकृत लोक बहादुर महराले शान्तपुर्वक वातावरणमा मतदान सम्पन्न भएको जानकारी दिए । उनले मतगणना बेलुकी ७ बजे देखि सुरु हुने बताएका छन। सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा भने २१ गते निर्वाचन हुँदै छ।


