धनगढी। धनगढी–अत्तरिया ६ लेन सडकको मेडियनमा रोपिएका बिरुवा चोरी भएका छन्। धनगढी उपमहानगरले सडक सौन्दर्यका लागि रोपेका ७ वटा विरुवा सोमवार राति चोरी भएको जनाएको हो। धनगढी उपमहानगरपालिकाले ६ लेन सडकमा यसअघि १२ बिरुवा चोरी भएकोमा सोमवार राति ६ लेन सडक खण्डको वडा नम्बर ३ र ४ मा पर्ने त्रिभुवन चोक नजिक ७ वटा बिरुवा चोरी भएको जनाएको छ।
६ लेन सडकमा ३ हजार ५ सय ५ बिरुवा रोपेकोमा अहिलेसम्म १९ वटा बिरुवा चोरी भएको उपमहानगरले जानकारी दिएको छ। ६ लेन सडकको मेडियनमा विरुवा रोपेर सुरक्षाका लागि तारजाली लगाइएको भए पनि जाली तोडफोड गर्ने र बिरुवा चोर्ने काम नरोकिएको हो। बोटबिरुवा चोरी कार्य गर्ने व्यक्तिलाई उपमहानगरपालीकालाई जानकारी गराइदिन मेयर गोपाल हमालले भनेका छन्। साथै बिरूवाहरूलाई हुर्काउने, बचाउने र सरक्षण गर्ने कार्यमा सहयोग गर्न सम्पूर्ण नगरवासीमा उनले अनुरोध समेत गरेका छन्।


