काठमाडौँ। नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। उनलाई राष्ट्रपति भवन शीतलनिवासमा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ ग्रहण गराएका हुन्।सोही समारोहमा नेपाली सेनाको टुकडीले राष्ट्रपति पौडेललाई २१ तोपको सलामी पनि अर्पण गरेको छ। नेपालको संविधानमा राष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नुअघि संघीय कानुनबमोजिम प्रधानन्यायाधीशसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ।
समारोहमा निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रियसभा अध्यक्ष, पूर्वराष्ट्रपति डा।रामवरण यादव, पूर्वप्रधानमन्त्रीहरु र मन्त्रिपरिषद्का पूर्वअध्यक्ष सहभागी थिए। राष्ट्रपति पौडेललाई शपथ ग्रहणपछि निवर्तमान राष्ट्रपति भण्डारी, उपराष्ट्रपति पुन, प्रधानमन्त्री दाहाल, पूर्वप्रधानमन्त्रीहरू लगायतले बधाई दिएका थिए। राष्ट्रपति पौडेलको सम्मानमा राष्ट्रपतिको कार्यालयले दिवाभोजको आयोजना गरेको छ।

