धनगढी। सुदुरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहलाई नेकपा एमालेले विश्वासको मत नदिने भएको छ। एमाले संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकले विश्वासको मत नदिने निर्णय गरेको एमाले प्रदेश सचिव तथा प्रदेश सभा सदस्य धर्मराज पाठकले बताए।
शाहलाई विश्वासको मत सम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको उनले जानकारी दिए। माघ २६ गते मुख्यमन्त्रीमा नियुक्त भएका शाहले आज दिउँसो १ बजे विश्वासको मत लिँने कार्यक्रम रहेको छ । यता माओवादीले ११ बजे तथा कांग्रेस १० बजे संसदीय दलको बैठक बोलाएका छन्। हिजो माओवादीले अहिलेकोस्थितिमा विश्वासको मत दिन नसकिने जनाएको थियो।
नागरिक उन्मुक्तिले पनि लिखित सहमति नभए विश्वासको मत दिन नसकिने बताएको छ। ५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा विश्वासको मत पाउन २७ सांसद आवश्यक पर्छ । कांग्रेसका १९, नेकपा एकीकृत समाजवादीका ४ र स्वतन्त्र १ सांसदले उनलाई विश्वासको मतलिने निश्चित छ । त्यस बाहेक नागरिक उन्मुक्ति र माओवादी मध्ये एक ले विश्वासको मत दिए पनि शाह सरकार जोगिन्छ। दुवैले विश्वासको मत नलिए आजै सरकार ढल्ने सम्भावना रहेको छ।


