धनगढी। कैलालीमा साढे पाँच लाखका सामानसहित एक जना पक्राउ परेका छन् । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ मुडा बजारबाट ५ लाख ३३ हजार ९० रुपैयाँ बराबरका इलोक्ट्रोनिक सामानसहित एक जना पक्राउ परेका हुन्।
इलाका प्रहरी कार्यालय बौनियाँका प्रहरी निरीक्षक महेश विक्रम शाहीको कमान्डमा खटिएको प्रहरी टोलीले बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ मुडा बजारबाट सामानसहित ५८ वर्षीय अच्छन हस्मी समेत पक्राउ परेका हुन् । भारतबाट विभिन्न सामानहरू ल्याएर कोठामा राखेको भन्ने सूचनाको आधारमा प्रहरी त्यहाँ पुगेको थियो। प्रहरीले एक सय ६६ थान मोबाइल ग्लास, एक हजार २ सय थान चार्जर कभर, एक हजार २ सय ५० थान मोबाइल कभर, १ हजार थान चार्जर केवल, इयरफोन ५ सय थान, डाटा केवल ५ सय २० थान, बल्ब १ सय ५० थान, मोबाइल ब्याट्री २ सय ३० थान बरामद गरेको इलाका प्रहरी कार्यालय बौनियाँले जनाएको छ।


