डडेल्धुराको भागेश्वर गाउँपालिकाको स्थायी मुकाम सर्वपक्षिय छलफलबाट टुंगिने भएको छ । हाल गाउँपालिकाले अस्थायी मुकाम भएको वडा नं ४ बगरकोटबाट सेवा दिइरहेको छ । ७ वटा स्थानीय तह रहेको डडेल्धुरामा अहिलेसम्म पालिकाको स्थायी मुकाम नतोकिएको स्थानीय तह पनि भागेश्वर गाउँपालिका हो ।
वि।सं २०७४ को स्थानीय निर्वाचनपछि गाउँसभाले पालिकाको नामाकरण गर्यो तर स्थायी मुकाम तोक्न सकेन । बिगतमा पनि टप्पवा, गुवाडी लगायतका अन्य क्षेत्रलाई स्थायी मुकाम तोक्ने प्रयास भए तर निर्णय हुन सकेन । वडा नं ३ का अध्यक्ष डम्बरराज जोशीले बिगतको स्थानीय सरकारले पटक–पटक कार्यपालिका बैठकबाट सहमती जुटाउन नसक्दा मतदान समेत भएको बताउँदै बहुमत कसैको नपुग्दा यसको स्थायी केन्द्र नतोकिएको बताए ।
वडा अध्यक्ष जोशीले जहाँ राख्दा न्यायोचित हुन्छ त्यहि स्थायी मुकाम राख्नु पर्नेमा जोड दिए । पालिकाको अस्थायी मुकाम बगरकोट भौगोलिक रुपमा बिच भागमा नपर्दा अधिकाश सेवाग्राहीलाई सेवा लिन असहज भएको छ । कार्यपालिका सदस्य राजेश्वरी भट्टले बिगतको स्थानीय सरकारले यो बिषय नटुग्याएकाले सेवाग्राहीलाई समस्या भएको बताइन् ।
पालिकाको अस्थायी मुकाम बिच भागमा नहुँदा २, ३ दिनसम्म आवतजावतमै लाग्ने गरेको भट्टले बताइन् । पहिलो कार्यकालमै पालिकाको स्थायी मुकाम कायम नहुँदा दोस्रो कार्यकालका लागि भएको स्थानीय निर्वाचनमा जनताको माग र जनप्रतिनिधिको प्रतिवद्धता स्थायी मुकाम बनाउने बनेको थियो ।
गाउँपालिका अध्यक्ष हेमराज चटौतले भने, “गएको स्थानीय सरकारले यो बिषयलाई टुग्याउन त्यती असहज परिस्थीती थिएन । यो अहिले साच्चीकै हाम्रा लागी पनि प्रश्न बनिरहेकाले लागि परेका छौ ।” गाउँपालिका अध्यक्ष चटौतले फागुनको अन्तिम साता सर्वपक्षिय छलफलबाट स्थायी मुकामको टुंगो लगाउने गरि छलफल गर्ने र आगामी असार १० गतेको गाउँसभाबाट स्थायी मुकाम तोक्ने कसरतमा गाउँपालिका गृहकार्य गरिरहेको बताए ।
५ वटा वडा रहेको भागेश्वर गाउँपालिकाको हालको अस्थायी मुकामको प्रशासनिक भवन गरिवी निवारणको र अध्यक्षको कार्यकक्ष रहेको भवन दलित मञ्चको रहेको छ । स्थायी मुकाम नटुगिँदा गाउँपालिकालाई समेत सेवा दिन असहज भएको छ भने अन्य भौतिक निमार्णका काम हुन नसकेको गाउँपालिकाले जनाएको छ ।

