धनगढी। धनगढीमा शान्तिका लागि साझा अभियानको परामर्श बैठक धनगढीमा सम्पन्न भएको छ । शान्ति, न्याय र सवल संस्थाका लागि नागरिक समाज (कोक्याप) ले शुक्रवार धनगढीमा विभिन्न सामाजिक संस्थाका प्रतिनिधि र मिडियाकर्मीको सहभागितामा नागरिक समाजको अवस्थाको बारेमा विश्लेषण परामर्श बैठक गरेको हो।
बैठकमा शान्ति र न्यायका लागि नागरिक समाज र सामाजिक सस्थाहरूले खेलेको भूमिकाको चर्चा गरिएको थियो। यस्तै, शान्ति, न्याय र मानवअधिकारको प्रत्याभूतिका लागि सामाजिक संस्थाले अब खेल्नु पर्ने भूमिकाको पनि चर्चा गरिएको थियो।सामाजिक अभियानकर्ता बिस्ना भट्टको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालयका प्रमुख हरि ज्ञवालीले नागरिक समाजको भूमिका समयअनुसार परिवर्तन हुनुपर्ने बताए।
उनले शान्ति र समृद्धिको आधार खडा गर्न मानव अधिकारको प्रत्याभूति हुनुपर्ने र वातावरणीय,आर्थिक, सामाजिक, सांस्कृतिक पक्षमा देखिएका समस्या र चुनौतीलाई पनि नागरिक समाजले उठाउनुपर्ने बताए । वातावरणीय, आर्थिक, सांस्कृतिक र सामाजिक पक्ष सबल भए मात्र मानवअधिकारको ग्यारेन्टी गर्न सकिने उनको जोड छ। यस्तै, कार्यक्रममा अध्यक्ष विस्ना भट्टले सामाजिक सुरक्षा भत्ता बुझ्न वृद्धवृद्धाहरूलाई समस्या भएकाले समाधान गर्न आवश्यक रहेको बताए।सामाजिक कार्यकर्ता अमिर तिरुवाले स्वागत मन्तव्य राखेको कार्यक्रममा सरोज नेपालको प्रस्तुति रहेको थियो।


