कैलाली। नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले आफ्ना सांसद अरुणकुमार चौधरी पक्राउ घटनामा प्रतिकृया दिएकी छन्। कैलाली क्षेत्र नं २ बाट नागरिक उन्मुक्ति पाटीका अरुणकुमार चौधरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। कैलाली अदालतले फरार सुचीमा राखेका उनलाई प्रहरीले आज बाँकेबाट पक्राउ गरेको हो।
सांसद चौधरी पक्राउ परेपछि नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले कडा प्रतिक्रिया दिएकी हुन्। प्रतिनिधी सांसदसमेत रहेकी श्रेष्ठले सरकारलाई समर्थन नचाहिने रहेछ भन्दै सरकारप्रति आक्रोश पोखेकी छिन्। ‘अपराधी थारूलाई मात्र देख्ने सरकारलाई। हाम्रो समर्थन तिमीलाई चाहिँदैन रहेछ,’ उनले सामाजिक सञ्जालमा लेखेकी छिन्। प्रतिनिधि सभा सदस्यका सांसद अरुणकुमार चौधरीलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको टोलीले बाँकेको कोहलपुरबाट बिहीबार पक्राउ गरेको थियो। कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित चौधरी सार्वजनिक सम्पति (ट्र्याक्टर) आगजनीको मुद्दामा दोषी ठहर भइ जेल सजाय नभोगेका ‘फरार अभियुक्त’ रहेको खुलेको थियो।
कैलालीको गोराङ्गा खोलाबाट ढुंगा लिएर लम्कीतर्फ जाँदै गएको ट्याक्टरमा ०६६ भदौ ३ गते आगजनी गरिएको थियो। ६ महिना कैद सजाय भुक्तान नगरि फरार सुचीमा रहेका छन्। वि.सं.२०७० बैशाख ९ गते कैलाली जिल्ला अदालतले सासंद अरुण कुमार चौधरी सहित परशुराम चौधरी र बिरबहादुर चौधरी गरि तीन जनालाई ६ महिना कैद सजाय सुनाएको थियो। ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई क्षतीपुर्ती उपलब्ध गराउने समेत फैसला गरिएको थियो। अदालतले फैसला गरेपनि यस अघि तीन जनालाई पक्राउ गरेर क्षतीपुर्ति उपलब्ध गराउन प्रहरीले कुनै पहल गरेको थिएन। अरुण चौधरी वि।सं। २०७४ सालमा आगजनी भएको ट्याक्टरका संचालक महादेव बजगाईसँगै लम्कीचुहा नगरपालिको मेयर पदमा निर्वाचन लडेका थिए।