काठमाडौं। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले सुदूरको पीडा राष्ट्रियस्तरमा जोडिन नसकेको बताएका छन्। सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन्।
मुख्यमन्त्री रालवले आफ्नो राजनीति पद र प्रतिष्ठा प्राप्तिको लागि नभएको बताउँदै अबको पाँच वर्षको कार्यकालमा अतीतलाई सम्मान गर्दै बर्तमानलाई क्रियाशील बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले मुख्यमन्त्री रावललाई जनताको पक्षमा राम्रा काम गर्न पनि आग्रह गरे । मुख्यमन्त्री रालवले आफ्नो राजनीति पद र प्रतिष्ठा प्राप्तिको लागि नभएको बताउँदै अबको पाँच वर्षको कार्यकालमा अतीतलाई सम्मान गर्दै वर्तामानलाई क्रियाशील बनाउने प्रतिबद्धता व्यक्त गरे । ‘राजनीतिको सारथीका रुपमा मलाई आम जनताले निर्वाचित गराएका छन् ।
यो निर्वाचन मेरो व्यक्तिगत कुनै इच्छा र आकांक्षाका लागि पद र प्रतिष्ठाका लागि होइन । मूलतः यो ती ग्रामिण क्षेत्रका नागरिकको समस्या र पीडा र राष्ट्र र राष्ट्रियता र समावेशिताको मुद्दासँग जोडिएको छ । सुदूरपश्चिमलाई छाउपडी र देउकी प्रथा भएको ठाउँको रूपमा मात्रै चिनिएको भन्दै काठमाडौंमा कुमारी प्रथाको देवत्वकरण भएजसरी सुदूरका सामाजिक सांस्कृतिक परम्परालाई उजागर गर्नुपर्ने उनले औंल्याए । ‘सुदूरपश्चिमका लाखौंलाख झुपडीकोहरुको एकत्वलाई मैले हेर्न जरुरी छ । सामाजिक विकृति र विसंगतिको क्षेत्रमा भएका समस्यासँग जुध्न जरुरी छ । काठमाडौंमा कुमारी प्रथाको देवत्व भएझैं सुदूरका सामाजिक–सांस्कृतिक परम्परालाई उजागर गरेर भोलिका दिनमा प्रडक्टका रुपमा ल्याउने चुनौति पनि मसँग छ,’–उनले भने ।
सुदूरपश्चिमलाई सुदूर नभएर सुगम बनाउन हातेमालोका लागि उनले आग्रह गरे । ‘अब सुदूर होइन, सुगम कसरी बनाउन सकिन्छ ? यो क्षेत्रका पीडा उजागर गरेर समाधान कसरी गर्न सकिन्छ, अब यसमा हातेमालो गरौं । देउडा कल्चरको मान्छे हुँ म, सखिया नृत्य नाच्ने क्षेत्रको मान्छे हुँ म । होली नाच नाच्ने क्षेत्रको मान्छे हुँ । यो कल्चरल फ्युजनलाई लिएर हामी कसरी अघि बढ्न सक्छौं रु यहाँहरुसँग हातेमालो गर्न चाहान्छौं,’ उनले भने । साथै, आफूले सुदूरले खोजेको समृद्धि जनताका सामान्य कुरा शिक्षा, स्वास्थ्य, रोजगारीको सिर्जनालगायत भएको उनको भनाइ छ । सुदूरको समृद्धिका लागि पढाइ, कमाइ र दवाइको अभियान, सुदूरको पानी, खानी र जवानीलाई बाहिर ल्याउन जरुरी रहेको उनले बताए ।
किताबमा आधारित शैक्षिक पद्धतिलाई परिवर्तन गरी भोलिका दिनमा सुदूर र सिंगो देशलाई आवश्यक पर्ने जनशक्ति विकास गर्नसक्ने खालको शिक्षा पद्धतीको विकास गर्नु अहिलेको आवश्यकत्ता भएको उनको ठहर छ । सुदूरको शिक्षामा शेक्सपियर पढेपनि राष्ट्रका लागि बलिदानी दिने महत्वपूर्ण समूदाय र व्यक्तिलाई अहिलेको पाठ्यक्रमले समेट्न नसकेको उनको टिप्पणी छ ।सुदुरपश्चिका विभिन्न प्राकृतिक एवं सांस्कृतिक सम्पदा संरक्षण, संवर्धन र प्रचार प्रसारको पर्खाइमा रहेको बताउँदै आगामी दिनमा प्रदेश सरकारले यसमा विशेष ध्यान दिने उनले बताए । सुदुरपश्चिम प्रदेश सरकारको विस्तार आफूले विश्वासको मत लिएपछि हुने र आफूले विश्वासको मत नपाउनुपर्ने कुनै कारण नै नभएको उनले बताए । सुदूरपश्चिमले अहिलेसम्म एउटा पनि राम्रो अस्पताल पाउन नसकेको उनको गुनासो छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको आजको भेटमा पनि सुदूरपश्चिममा अस्पताल निर्माण र विकासमा सहयोगका लागि आग्रह गरेको उनले बताए । सुदूरको स्वास्थ्य समस्यालाई केन्द्र सरकारको सहयोग लिएर समाधानमा लागिपर्ने उनले बताए । सुदूरको समृद्धिका लागि राष्ट्रिय गौरवका आयोजनाको आवश्यकत्ता औंल्याउँदै अहिले विकास गर्ने भन्दापनि विकास खाने प्रवृति बढेको बताए । आफू जनताको नोकरको रुपमा रहेर काम गरिरहेको उनले बताए । ‘म जनताको मालिक होइन जनताको नोकर हुँ । हिजोदेखि नै म जनताको नोकर नै भएर काम गरेको छु,’ उनले भने । सुदूरपश्चिमको नेतृत्वहरुसँग दूरदृष्टिको अभाव रहेको रहेको औंल्याउँदै उनले अब सुदूरको पीडा समग्र देशको पीडा बनोस् र समस्या समाधान होस् भन्ने आफ्नो चाहना भएको बताए । केन्द्रीय सरकारले प्राथमिकताको आधारमा सुदूरपश्चिमलाई विशेष महत्व दिनुपर्ने उनले बताएका छन् । अब व्यवस्थाको लागि लड्ने नभएर समृद्धिका लागि अगाडि बढ्नु जरुरी रहेको उनले बताए । एउटा व्यक्ति असफल बन्दै गर्दा व्यवस्था नै गलत भयो भन्नु गलत भएको उनले बताए ।साथै, कैदी जीवन विताइरहेको रेशम चौधरीको रिहाइको लागि आफू सकारात्मक रहेको उनले बताएका छन् । ‘मानवीय संवेदना समुदायबीचको द्धन्द्धलाई अन्त्य गर्न छ, सामाजिक एकत्व खोज्नु जरुरी छ । सकारात्मक सोचले अगाडि बढ्न जरुरी छ । रेशमजी मेरो समाजको कम्पोनेन्ट हो,त्यत्ति बुझ्न जरुरी छ,’ उनले भने ।