काठमाडौँ। शुक्रबार शीतल निवासमा आयोजित एक कार्यक्रमबीच नवनिर्वाचित सभामुख देवराज घिमिरेले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका छन्। नवनिर्वाचित सभामुख घिमिरेले पद तथा गोपनीयताको शपथग्रहण गरेका हुन् ।
शपथग्रहण कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत उच्च पदस्थ अधिकारीहरू सहभागी थिए। सत्तारूढ गठबन्धनबाट उम्मेदवार बनेका घिमिरे प्रतिनिधिसभामा बिहीबार भएको मतविभाजनबाट सभामुख चयन भएका हुन् ।
२०६२/६३ को जनआन्दोलनपछि पहिलो पटक सांसदहरूको मतविभाजनबाट सभामुख चयन गरिएको हो। प्रतिनिधिसभाको बिहीबारको बैठकमा ‘घिमिरेलाई सभामुखमा निर्वाचित गरियोस्’ भन्ने प्रस्तावलाई मतविभाजनमा लैजाँदा उपस्थित २ सय ६८ सांसदमध्ये १ सय ६७ सांसदले पक्षमा मत दिएका थिए ।

