काठमाडौं। नेपाली कांग्रेसले सांसद ईश्वरी न्यौपानेलाई सभामुख पदको उम्मेदवार बनाउने तयारी गरेको छ। यद्यपि, औपचारिक निर्णय भएको छैन। पार्टीभित्र न्यौपानेलाई सभामुखको उम्मेदवार बनाउनेबारे छलफल भएको कांग्रेसका एक पदाधिकारीले बताए। उनले भने, ‘उहाँ (ईश्वरी) लाई उम्मेदवार बनाउने विषयमा छलफल भइरहेको छ।
निर्णय भएको छैन। हामी माधवजीहरूसँग पनि छलफल गर्देछौं।’ उनले अन्य सहयोगी दलहरूसँग सहमति गरेर अघि बढ्ने बताए। पार्टी सभापति शेरबहादुर देउवाको धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले अन्य दलसँग पनि छलफल गरेर अघि बढ्ने निर्णय गरेको थियो। न्यौपाने समानुपातिक सांसद हुन्। कैलालीकी न्यौपाने कांग्रेसको १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्य बनेकी थिइन्। उनले लामो समय महिला संघमा काम गरिन्। उनले कांग्रेसमा महिला विभाग प्रमुखसमेत भएर काम गरिसकेकी छन्।२०७४ को सालको निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ बाट पराजित भएकी थिइन्। उनी सभापति देउवानिकट छिन्।
सत्ता गठबन्धनको तर्फबाट एमालेले देवराज घिमिरेलाई सभामुख उम्मेदवार बनाउने निर्णय गरिसकेको छ। पदाधिकारी बैठकमा सभामुखको उम्मेदवार तय गर्न सकस भएपछि कांग्रेसले अन्य दलसँग छलफल गर्न थालेको हो। कांग्रेसलाई सभामुख पदमा उम्मेदवार दिनेर नदिने, उम्मेदवार कसलाई बनाउने भन्ने निर्णय गर्न सकस परेको छ। पदाधिकारी बैठक उम्मेदवारको टुंगो नलगाई बिना निष्कर्ष सकिएको छ। बुधबार बिहान पदाधिकारी बैठक अगाडि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गर्न नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल धुम्बाराहीमा पुगेका थिए।


