धनगढी। सुदूरपश्चिम प्रदेशको उपसभामुखको लागि सत्ता गठबन्धनबाट एमालेकी कोइलीदेवी चौधरी उम्मेदवार भएकी छन् । यस्तै कांग्रेस – नेकपा एस गठबन्धनबाट नेकपा एकीकृत समाजवादीकी माया पन्त उम्मेदवार भएकी छन् । यी दुबै जना महिला उम्मेदवार चुनावी मैदानमा उत्रिने भएका छन्।आजै उपसभामुखको पनि निर्वाचन हुँदै छ।
आजै ४ बजे सम्म मनोनयन दर्ता गरेर ६ बजे निर्वाचन गर्ने तयारी भइरहेको छ। नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिममा उपसभामुख नलिने भएपछि सत्तारूढ गठबन्धनभित्र एमालेलाई दिने समझदारी बनेको छ। सत्तारूढ गठबन्धनले उन्मुक्ति पार्टीलाई उपसभामुख प्रस्ताव गरेपनि रेशम चौधरीको रिहाइ लगायतका मुद्दा सम्बोधन नभएसम्म कुनै लाभको पद नलिने जनाएको छ। सोहीअनुसार एमालेले समानुपातिक प्रदेशसभा सदस्य चौधरीलाई उपसभामुखको उम्मेदवार बनाउने भएको हो।कोइलीदेवी चौधरी एमाले कैलाली जिल्ला सचिवालय सदस्य हुन्। उपसभामुख नलिएको उन्मुक्ति पार्टीले एमालेकै उम्मेदवारलाई समर्थन गर्ने भएको छ।
यस्तै यता नेपाली काँग्रसले नेकपा एकिकृत समाजबादीबाट माया पन्तलाई उपसभामुखको उमेदवार बनाएको छ। नेपाली कांग्रेस सुदूरपश्चिमका संसदीय दलका नेता कमल बहादुर शाहले काँग्रेसबाट कुनै आँकाक्षी नभएकाले सहमतीका आधारमा नेकपा एकिकृत समाजबादीबाट पन्तलाई उपसभामुखको उमेदवार बनाएको उनले जानकारी दिए।पन्तले उम्मेद्वारी दर्ता गरेकी छन्। नेकपा एकीकृत समाजावदीका प्रमुख सचेतक नरेश कुमार शाहीले प्रस्ताव गरेका छन् भने नेपाली कांग्रेस प्रदेश सभा सदस्य मधुदेवी भारतीले सर्मथन गरेकी छन् । पन्त कञ्चनपुरबाट प्रदेशसभा सदस्यमा बिजयी भएकी थिइन्। उनी यस अघि नेकपा एमालेमा रहेकी थिइन् ।

