पोखरा। पोखरामा आइतबार भएको विमान दुर्घटनामा ४ जनाको अवस्था अझै अज्ञात रहेको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ । हालसम्म ६८ जनाको शव भेटिएको छ भने ४ जनाको अवस्था अज्ञात रहेको प्रशासनले जनाएको छ ।
अझै अज्ञात रहेकाहरुको खोजी कार्य तीव्र पारिएको छ। उद्धारमा नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी बल खटिएको छ। आइतबार काठमाडौंबाट पोखराका लागि उडेको यती एअरलाइन्सको विमान पुरानो पोखरा विमानस्थल पछाडिको सेती खोंचमा दुर्घटनामा परेको थियो । उक्त विमानमा चालकदलका ४ जनासहित ७२ जना सवार थिए। उद्धारमा खटिएका सुरक्षाकर्मीका अनुसार आइतबार साँझ ६३ र सोमबार बिहान ५ वटा शव बाहिर निकालिएको थियो। जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक जिल्ला अधिकारी अनिल शाहीले अहिलेसम्म ६८ जनाकोमात्रै शव भेटिएको र बाँकी ४ जनाको अवस्था पत्ता लगाउन लागिपरेको बताए।
खोंचमाथि अड्किएको विमानको मुख्य भाग हटाएर बिहान शव खोजिएको थियो । तर, त्यहाँ पनि नभेटिएको उद्धारमा संलग्न सुरक्षाकर्मी स्रोतले जानकारी दिएको छ। ‘भित्र खोंच गहिरो छ। हामी त्यता पनि खटिएका छौं, प्रयास गर्दैछौं,’ उद्धारमा खटिएको नेपाल प्रहरी स्रोतले भनेको छ। उद्धारमा समस्या भएपछि क्रेनको प्रयोग गरिएको छ भने गोताखोरको प्रयोग भइरहेको छ। शवलाई पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।अस्पताल स्रोतका अनुसार हालसम्म ३८ जनाको सनाखत भएको छ। ‘सनाखत नभएका व्यक्तिहरुलाई आझै काठमाडौं हेलिकप्टरबाट लगेर डीएनए परीक्षण गरिने अस्पताल स्रोतले बताएको छ।

