कैलाली। कैलालीको गोदावरीधाममा बिगत बर्ष जस्तै यस वर्षपनि बाह्रराशि दर्शन मकरमेला लाग्ने भएको छ। माघ १२ गतेसम्म बाह्रराशि दर्शन मकरमेला लाग्ने गोदावरीधाम विकास समितिले जनाएको छ। कैलालीको गोदावरी ४ गोदावरीधाममा आयोजना हुन लागेको बाह्रराशी दर्शन मकर मेलाको आज(शनिबार)उद्घाटन गरिने भएको छ।
आज पुस ३० गते सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीले उदघाटन गर्ने कार्यक्रम रहेको गोदावरी धाम विकास समितिले जनाएको छ। मेलामा बाह्रराशी नवग्रह, सत्ताईस नक्षेत्रको स्थापना तथा लक्ष्यहवन , विभिन्न पुराणहरु प्रारायण, ग्रह पूजा, ग्रह शान्ति, भजनकिर्तन, प्रवचन आदि हुने आयोजकले जनाएको छ। यसैबीच , गोदावरी नगरपालिकाले मेलामा जाने श्रद्दालु भक्तजनहरुको सहजताका लागि निःशुल्क बस सेवा सञ्चालनको व्यवस्था गरेको छ।
मेलामा नेपालसहित भारतबाट समेत भक्तजन आउने गर्दछन्। मेला यही पुष ३० गते (शनिबार) आजबाट माघ १२ गते सम्म लाग्ने छ।गोदावरीमा धार्मिकस्थल मात्र नभएर मनोरञ्जनका लागि पनि विभिन्न गतिविधिहरु हुने गरेका छन्। माघीमा विवाह, व्रतबन्धलगायत शुभ कामका लागि झन् बढी घुइँचो लाग्ने गरेको छ। सुदूरपश्चिम प्रदेशको अस्स्थायी राजधानी धनगढीबाट गोदावरीधामसम्म कम्तीमा १८ किलोमिटरको दूरीमा पर्छ। गोदावरीमा रहेका हनुमानको ठूलो मूर्ति, गौतम बुद्ध सुतेको मूर्ति, गणेश भगवान्को मूर्ति र शिवलक्ष्मी भगवान्का मूर्तिको अवलोकन तथा दर्शन र रमणीय ताल अवलोकन गर्न सकिने गरेको छ।


