धनगढी। सुदूरपश्चिम प्रदेश सभा बैठक अनिश्चितकालकालागि स्थगित गरिएको छ। सुदूरपश्चिम प्रदेशको सभामुख चयनका लागी आज बिहान ११ बजे बोलाईएको बैठकमा नागरिक उन्मुक्तिका साँसदहरु उपस्थीत नभएपछि सुचना टाँस गरेर अनिश्चितकालका लागि बैठक स्थगित गरिएको छ। नागरिक उन्मुक्ति पार्टीले लिखित सहमति नभएसम्म सुदूरपश्चिम प्रदेश सभाको सभामुख निर्वाचनमा सहभागी नहुने अडान राखेको छ।
नागरिक उन्मुक्तिले तीन मन्त्रालय, दुई संसदीय समितिको सभापतिमा लिखित सहमति नभएसम्म सभामुख निर्वाचनमा भाग नलिने अडान राखेको हो। हिजो भएको सभामुख निर्वाचनमा कसैले पनि बहुमत प्राप्त गर्न सकेका थिएनन्।सत्तारूढ गठबन्धनबाट माओवादीका भीमबहादुर भण्डारी र कांग्रेसका मानबहादुर रावल उम्मेदवार थिए ।
भण्डारीले २६ र रावलले २३ मत पाए। ५३ सदस्यीय प्रदेश सभामा सभामुख चयनका लागि २७ मत आवश्यक पर्छ । सत्तापक्षकै सांसदको मत बदर भएकाले भण्डारी बिहीबार सभामुख चयन हुन सकेनन्।सत्तापक्षका एक सांसदको मत बदर पाइएको प्रदेश सभा सचिवालयले जनाएको छ । प्रदेश सभा सचिवालयले प्रदेश सभा सदस्यको मोबाईलमा एसएमएस र सभाको सूचना पाटीमा सूचना टाँस गर्दै अनिश्चितकालका लागि स्थगित भएको सचिव देवबहादुर बोगटीले बताए । सभाको तेस्रो बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको सचिव देवबहादुर बोगटीद्धारा हष्ताक्षरित सूचनामा उल्लेख छ। प्रदेश सभा सचिवालयमा सभामुख चयनकालागि सचिव देवबहादुर बोगटीनिर्वाचनको कार्यतालिका रहेको थियो।

