धनगढी। सुदूरपश्चिम प्रदेश सरकारमा नागरिक उन्मुक्तिले ठोस निर्णय नगर्दा गठबन्धन अलमलमा परेको छ। सुदूरपश्चिम प्रदेशमा सरकारको नेतृत्वमा (मुख्यमन्त्री) मा दाबी पेस गर्ने समय करिब साढे ४ घण्टा मात्रै बाँकी रहदा सत्ता गठबन्धन अलमलमा परेको हो। प्रदेश प्रमुख देवराज जोशीले सुदूरपश्चिमको मुख्यमन्त्रीकालागि दाबी पेस गर्न आज ५ बजेसम्मको समय सीमा दिएका छन्। भने सभामुखमा मनोनयन दर्ता गर्ने समय दिउँसो साढे २ बजेसम्म छ।
सुदूरपश्चिम प्रदेश सरकार बनाउन निर्णायक तहमा रहेको नागरिक उन्मुक्ति पार्टीले ठोस निर्णय गर्न सकेको छैन। माओवादी र नागरिक उन्मुक्ति पार्टीको समर्थन लिएर एमाले संसदीय दलका नेता राजेन्द्र रावलले मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी गरेका छन्। तर, उन्मुक्ति पार्टीले निर्णय लिन ढिलाइ गर्दा अन्योल भएको छ। केन्द्रको यकिन निर्णय आउन सकेको छैन्।यता प्रदेशसभाको सबभन्दा ठूलो दल नेपाली कांग्रेसले प्रदेश सरकार गठन र सभामुखको मनोनयन लगायतका विषयमा छलफल गर्न बिहान ८ बजे बोलाइएको संसदीय दलको बैठक अहिलेसम्म बस्न सकेको छैन।बिहान केही प्रदेश सभा सदस्यहरू संसदीय दलको कार्यालयमा उपस्थित भइसकेका थिए । तर, काँग्रेस संसदीय दलका नेता कमल शाहले बैठक १०ः३० मा हुने बताएपछि उनीहरु पनि फर्किए।
त्यसपछि १०ः ३० मा पनि बैठक सुरु हुन सकेन। नागरिक उन्मुक्तिसँग छलफल भइरहेको हुँदा संसदीय दलको बैठक बस्न ढिलाइ भएको हो । आज मुख्यमन्त्रीको दाबी गर्ने र सभामुखको मनोनयन गर्ने अन्तिम दिन हो । मुख्यमन्त्रीमा रावललाई समर्थन गर्ने वा नगर्ने विषयमा नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशमलाल चौधरीले निर्णय नदिएका कारण प्रदेशसभा सदस्यहरू मौन छन्। नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता रामेश्वर चौधरीले केन्द्रीय नेतृत्वको निर्देशनको पर्खाइमा रहेको जानकारी दिए। अहिलेसम्म केन्द्रीय नेतृत्वबाट कुनै निर्देशन नभएको अवस्थाले प्रतीक्षामा रहेको सोहीअनुसार निर्णय लिने चौधरीले बताए। उनले छलफलमै रहेको बताए ।
उता, नागरिक उन्मुक्तिका महासचिव रतन थापासहितका नेताहरू भने रेशम चौधरीसँग छलफल गर्न डिल्लीबजार कारागार पुगेका छन्। त्यहाँ उनीहरूले सुदूरपश्चिम सरकार गठनका बारेमा छलफल गरिरहेको बताइएको छ। एमाले संसदीय दलका नेता रावलसहित प्रदेशसभा सदस्यहरू पनि नागरिक उन्मुक्ति पार्टीको निर्णयको प्रतीक्षामा बसीरहेका छन्। उन्मुक्ति पार्टीले अहिलेकै गठबन्धनलाई सहयोग गरेमा एमालेका रावल आज नै मुख्यमन्त्रीमा नियुक्त हुने भएका छन् । नेपाली कांग्रेसले पनि नागरिक उन्मुक्ति पार्टीका नेताहरूसँग छलफल गरिरहेका छन्। अहिले कांग्रेस र नेकपा एकीकृत समाजवादी आफूहरूसँग नागरिक उन्मुक्तिलाई उभिन लबिङ गरिरहेका छन्। कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह र नेकपा एकीकृत समाजवादीको संसदीय दलका नेता दीर्घ सोडारी छलफलमा जुटेका छन्। उनीहरूले उन्मुक्ति पार्टीलाई एमाले र माओवादीबाट अलग गरेर प्रदेश सरकार गठन गर्न प्रयास गरीरहेका छन् । ५३ सदस्यीय प्रदेश सभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४, राप्रपा स्वतन्त्रका एक/एक सांसद रहेका छन्।


