काठमाडौँ। गृह मन्त्रालयले सुरक्षा निकायका पदाधिकारीलाई स्पष्ट प्रयोजनका साथै विभागीय स्वीकृति नलिइकन राजनीतिक दलका नेता तथा कूटनीतिक नियोगका नेतृत्वसँग भेटघाट नगर्न निर्देशन दिएको छ। गृहमन्त्रालयका सहसचिव एवं प्रवक्ता फणीन्द्रमणि पोखरेलले बिहीबार विज्ञाप्ति जारी गर्दै यस्तो निर्देशनविपरीत कार्य गरेरगराएको पाइएमा प्रचलित कानुनबमोजिम अनुशासनसम्बन्धी कारबाही हुने जनाएका छन्।
विज्ञप्तिमा भनिएको छ, शान्ति सुरक्षा तथा अमनचयन कायम गर्ने प्रमुख जिम्मेवारी भएको सुरक्षा निकायका कतिपय पदाधिकारीहरू कर्तव्य पालनाको सिलसिलामा बाहेक पनि विभिन्न कूटनीतिक नियोग, राजनीतिक नेतृत्वसँग भेटघाट गर्ने गरेको बुझिन आएको हुँदा सुरक्षाकर्मी पदाधिकारीहरूले कूटनीतिक नियोग, विभिन्न राजनीतिक दलका कार्यालय वा नेतृत्वसँग भेटघाट गर्नुपर्ने भएमा स्पष्ट प्रयोजन साथ विभागीय स्वीकृति लिएर मात्र गर्नु गराउनु हुन भनिएको छ ।
यस्तै सोको प्रभावकारी कार्यान्वयन तथा अनुगमन सम्बन्धित संगठन प्रमुखले मिलाउन हुन अनुरोध छ । साथै यस निर्देशनविपरीत कार्य गरेरगराएको पाइएमा प्रचलित कानुनबमोजिम अनुशासनसम्बन्धी कारबाही हुने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।सुरक्षा अधिकारीहरुले सरुवा बढुवाका लागि नेताहरुका घर धाउने, आफ्नो पदीय जिम्मेवारी भन्दा अन्य कामका लागि लबिङ गर्ने गर्छन्। यसलाई नियन्त्रण गर्नका लागि गृहरले यस्तो निर्देशन दिएको हो।

