काठमाडौँ। नेपाली कांग्रेसका शेखर कोइराला-गगन थापा समूहले सभापति शेरबहादुर देउवासहितको सानो गिरोहुको सत्ता लिप्साले सबै गुमेको निष्कर्ष निकालेको छ। सो समूहको बुधबार बिहान राजधानीमा भएको भेलाले यस्तो निष्कर्ष निकालेको हो।
सत्तालिप्सा, स्वार्थ केन्द्रित सानो गिरोहको धारणाले यो परिस्थिति आइपुग्यो, कांग्रेस नेता अर्जुननरसिंह केसीले भने, संस्थागत निर्णय नहुँदा यस्तो अवस्थामा आयो भन्ने हाम्रो निष्कर्ष छ ।कोइराला र महामन्त्री गगन थापासहितका नेताहरू बुधबारको भेलामा सहभागी रहेका थिए । भेलामा अर्का महामन्त्री विश्वप्रकाश शर्मा र सांसद प्रदीप पौडेल भने अनुपस्थित थिए। सभापति देउवाले प्रधानमन्त्री र राष्ट्रपति दुवै आफूले पाउनु पर्ने अडान राखेपछि माओवादी केन्द्र गठबन्धनबाट बाहिरिएको थियो ।
माओवादी केन्द्र र नेकपा एमालेबीच नयाँ सत्ता समीकरण बनेपछि कांग्रेस संघमा मात्रै नभएर प्रदेशमा पनि सबै प्रमुख पद गुमाउने अवस्थामा पुगेको छ ।प्रधानमन्त्री दाहाल देउवासँग सरकार गठनबारे सहमति हुन नसकेपछि केपी ओलीसँग सहमति गर्न बालकोट पुगेका थिए। त्यसपछि शेखर(गगन समूहका नेताहरूले यस्तो अवस्था आउनुको पछाडि देउवा समूहका नेताहरू दोषी रहेको बताउँदै आएको छन्। थापाले भने सरकार गठनका विषयमा दाहालसँगको छलफलमा आफूहरूलाई नबोलाएको भन्दै यसअघि नै असन्तुष्टि जनाइसकेका थिए।
एमालेसहितको सात राजनीतिक गठबन्धनबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बनेका छन्। एमाले र माओवादीबीच आधा आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति भएको छ। शेखर-गगन समूहले प्रदेशमा आफ्नो पक्षबाट संसदीय दलको नेतामा कसलाई अघि सार्ने र पुस २२ मा हुने केन्द्रीय कार्य समितिको बैठकमा कसरी प्रस्तुत हुने भन्ने बारेमा छलफल गर्न बुधबार बिहान बैठक गरेको थियो। समूहका धेरै नेताहरु बाहिर भएकाले छलफललाई निरन्तरता दिने गरी बैठक सकिएको थियो। कान्तीपुरबाट

