धनगढी। रेशम चौधरी संस्थापक रहेको नागरिक उन्मुक्ति पार्टीले सरकारमा नजाने निर्णय गरेको छ। सोमबार पार्टीले संघ र प्रदेशमा बाहिर बसेर सरकारलाई समर्थन गर्ने निर्णय गरेको हो।संस्थापक चौधरीसँग डिल्लीबजारमा भएको छलफलपछि सरकारमा नजाने तर समर्थन गर्ने निर्णय भएको पार्टीका प्रवक्ता दामोदर पण्डितले जानकारी दिए।
आज रेशमले सरकारमा सहभागी हुने या नहुने विषयमा छलफल गर्न पार्टीका शीर्ष नेताहरुलाई कारागारमै बोलाएका थिए। आइतबार मात्र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निजी निवास बालकोटमा भएको सात दलीय छलफलमा रेशम संस्थापक रहेको उन्मुक्ति पार्टी पनि सहभागी थियो।उक्त छलफलपछि उन्मुक्ति पार्टीले प्रधानमन्त्रीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई समर्थन गरेको छ। उन्मुक्तिले आफ्ना केही सर्त र मागहरु सरकारसँग राख्ने र ती मागहरु पुरा नहुँदासम्म सरकारमा नजाने निर्णय गरेको पार्टीकी अध्यक्ष तथा रेशमपत्नी रञ्जिता श्रेष्ठले बताइन्।
उनले मुख्यतया आफ्ना तीन मागहरु सरकार समक्ष रहने पनि बताइन्।रेशम चौधरी लगायतका बन्दीको रिहाइ, झुठा मुद्दा खारेज तथा टीकापुर घटनापछि गिरिशचन्द्रलाल नेतृत्वको आयोगले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने पार्टीको माग छ। नयाँ समीकरणको सरकारसँग पनि यिनै मागलाई उन्मुक्ति पार्टीले अघि सार्ने जनाएको छ। यो पार्टीले प्रतिनिधिसभामा ४ सिट जितेको छ। सुदूरपश्चिम प्रदेशसभामा समानुपातिकसहित ७ सांसद र लुम्बिनी प्रदेशमा चार जना सांसदको प्रतिनिधित्व छ।

