धनगढी। सुदूरपश्चिम प्रदेशसभाकी पूर्वसदस्य दुर्गा विक नेकपा एमाले प्रवेश गरेकी छिन् । डेढ वर्षको अवधिमा मात्रै विक ३ दल अदलबदल गरेकी छन्। नेकपा माओवादी केन्द्रबाट प्रदेशसभाकी पूर्वसदस्य रहेकी विक र उनका पति रामबहादुर विक एकै दिन एमाले प्रवेश गरेका हुन्।
माओवादी अछामका नेतासमेत रहेका उनका श्रीमान् रामबहादुर विक अब एमालेका नेता बनेका छन्। उनीहरूलाई एमाले महासचिव शंकर पोखरेलले पार्टीमा स्वागत गरेका छन्। २०७४ मा नेकपा एमालेबाट समानुपातिक सांसद बनेकी विक नेकपा विभाजनका वेला प्रदेशसभाकी प्रमुख सचेतक समेत बनेकी थिइन्।एमालेभित्र ओली र नेपाल दुवैतर्फबाट कारबाहीका शृंखला चलिरहेका बेला प्रदेशसभामा प्रमुख सचेतक निकै महत्त्वपूर्ण पद मानिएको थियो। नेपाल पक्षको बहुमतमा रहेको संसदीय दलले आफ्नो पक्षका विश्वास पात्रलाई प्रमुख सचेतकको जिम्मेवारीमा ल्याएको थियो।
त्यसपछि एमाले विभाजनका वेला उनी एकीकृत समाजवादीतिर लागिन्। त्यहाँ उनले एकीकृत समाजवादीको प्रमुख सचेतक भएर काम गरिन्। त्यसपछि उनी संसदीय चुनावअघि नेकपा माओवादी केन्द्रतर्फ मोडिएकी थिइन्।भदौ ३१ मा उनी खुमलटार पुगेर माओवादी प्रवेश गरेकी थिइन्। उनलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा स्वागत गरेका थिए।उनका श्रीमान् रामबहादुर गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा माओवादीबाट अछामको पञ्चदेवल नगरपालिकाको मेयरका उम्मेदवार थिए। विक कांग्रेसकी अम्बिका चलाउनेसँग पराजित भएका थिए।चलाउनेले चुनावमा तीन हजार ६ सय ५३ मत ल्याएर जित हासिल गरेकी हुन्। उनका निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका रामबहादुर विक तीन हजार एक सय ७२ मत ल्याएर पराजित भएका थिए।


