धनगढी। कैलालीको अत्तरियामा सोमबार साँझ सुनचाँदी व्यवसायीमाथि गोली प्रहारभएपछि कैलालीका सुनचाँदी व्यवसायी आन्दोलित भएका छन्।कैलालीको गोदावरी नगरपालिका अन्तरगत अत्तरियाका व्यवसायी विकास सुनारलाई अज्ञात व्याक्तिले गोली हानेर लुटपाट गरेपछि जिल्लाका सुनचाँँदी व्यवसायी आन्दोलित भएका हुन्। उनीहरुले जिल्ला प्रशासन कार्यालय कैलाली घेराउ गरेका छन्।
सुनचाँदी व्यापारी सुनारमाथि गोली प्रहार गर्ने व्याक्तिलाई कानूनी कारबाही गर्न जिल्लाका सुनचाँदी व्यापारीहरुले माग गरेका हुन्। ईलाका प्रहरी कार्यालय मालाखेती र सशस्त्र प्रहरीको सुदूरपश्चिम मुख्यालयनजिकै गोदावरी नगरपालिका १ धनगढी रोडमा रहेको न्यु घोडाघोडी सुनचाँदी पसलका सञ्चालक ३१ वर्षीय विकास गौतम (सुनार) माथि मोटरसाइकलमा आएका दुई जनाको समूहले गोली प्रहार गरेको थियो ।
जिल्लामा शान्ति सुरक्षा नभएले व्यापारी त्रसित रहेको उनीहरुले गुनासो गरेका छन्। गोली प्रहार गर्नेलाई कानूनी कारबाही नभएसम्म आन्दोलन जारी रहने सुनचाँदी व्यवसायीले बताएका छन्। कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले अत्तरिया गोलीकाण्डका दोषीलाई पक्राउ गर्दै कारबाही गर्ने बताएका छन्।

