धनगढी। सुदूरपश्चिम प्रदेश सभामा यस पटकको निर्वाचनमा उम्मेदवारी दिएका १०९ जनाको जमानत जफत गरिएको छ। निर्वाचन आयोगले प्रदेश सभा सदस्य निर्वाचनको अन्तिम परिणामसहितको प्रतिवेदन बुझाउँदै सुदूरपश्चिममा प्रदेश सभातर्फ उम्मेदवारी दिएका ९९ पुरुष र १० जना महिला उम्मेदवारको जमानत जफत गरिएको जनाएको छ।
प्रदेश सभातर्फ उम्मेदवारी दिएका उम्मेदवारले कुल सदर मतको १० प्रतिशत मत नपाएपछि विभिन्न साना पार्टीसहित स्वतन्त्र उम्मेदवारको जमानत जफत भएको हो। प्रदेश सभाका उम्मेदवारले उम्मेदवारी दर्ताको क्रममा पाँच हजार रुपियाँका दरले धरौटी राखेका थिए । सदर मतको १० प्रतिशत मत पु¥याउन नसकेका उम्मेदवारका धरौटी जफत भएको निर्वाचन आयोगले जनाएको हो।
यस्तै आयोगकी निर्वाचन आयुक्त डाक्टर जानकी कुमारी तुलाधर अनुसार प्रदेशमा २८ वटा राजनीतिक दलको धरौटी जफत भएको हो। निर्वाचन आयोगले प्रदेश सभा सदस्य निर्वाचनको अन्तिम परिणामसहितको प्रतिवेदन प्रदेशका प्रमुख देवराज जोशीलाई बुझाएको छ। प्रदेशसभा निर्वाचन २०७९ का लागी ८ लाख ४२ हजार ७ सय ७४ जना महिला मतदाता तथा ८ लाख १५ हजार २ सय १२ पुरुष तथा अन्य १८ गरी कुल १६ लाख ५८ हजार ४ मतदाता रहेका थिए। यस्तै पहिलो हुने निर्वाचन हुने निर्वाचित हुने निर्वाचन प्रणालितर्फ ९ लाख ५८ हजार ८४५ अर्थात् ५७ दशमलव ८३ प्रतिशत मतदान भएको थियो। जसमध्ये ९ लाख १३ हजार ८७८ अर्थात् ९५ दशमलव ३१ प्रतिशत मत सदर भएको थियो। भने ४४ हजार ९६७ अर्थात् ४ दशमलव ६९ प्रतिशत मत बदर भएको थियो।


